लकडाउनका कारण यार्सा टिप्न रोकः राजस्व प्रभावित हुने

रासस
वैशाख ८, २०७७
yersha-gumba2019-05-16

मनाङ, ८ वैशाख । विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरस (कोभिड– १९) सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले देशभर लागू गरेको बन्दाबन्दी (लकडाउन) का कारण यार्सागुम्बा टिप्नमा रोक लगाइएको छ ।

यार्सागुम्बा टिप्ने मौसम शुरु भए पनि लकडाउनका कारण यस वर्ष जिल्ला प्रशासन कार्यालय मनाङले यार्सागुम्बा टिप्न रोक लगाएको हो । सङ्घीय सांसद पोल्देन छोपाङ गुरुङको अध्यक्षमा जिल्लाका चारवटै गाउँपालिकाका प्रमुखको सहभागितामा बसेको बैठकले यार्सागुम्बा टिप्न जाने बाटो नखोल्ने निर्णय गरेको मनाङका प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेलले जानकारी दिए । महङ्गो र लोपोन्मोख बहुउपयोगी हिमाली औषधीय जडीबुटी यार्सागुम्बा टिप्ने मौसम भए पनि देश नै लकडाउनको अवस्थामा रहेकाले त्यसलाई टिप्न रोक लगाएको जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ ।

सरकारले शारीरिक दूरी कायम गरेर बस्न र जमघट हुने गरी समूहमा नबस्न निर्देश गरेअनुरुप यार्सागुम्बा टिप्न रोक लगाएको नासो गाउँपालिकाका अध्यक्ष चन्द्र घलेले जानकारी दिए । “यार्सागुम्बा टिप्न जाँदा धेरै भिडभाड हुने र जिल्ला बाहिरबाट समेत यार्सा टिप्नका लागि मानिस यहाँ आउने भएकाले कोरोना भाइरस सङ्क्रमणको जोखिम बढ्ने हुँदा निषेध गरेका हौँ”, उनले भने । “सरकारको अर्को सूचना नआउँदासम्मका लागि यार्सा टिप्न रोक लगाएको छ ।” यार्सा टिप्न मनाङलगायत गोरखा, लमजुङ, रुकुम, रोल्पा, डोल्पा र धादिङ जिल्लाबाट धेरै मानिस यहाँ आउने भएकाले कोरोना भाइरस सङ्क्रमणको जोखिमलाई ध्यानमा राखेर रोक लगाएको अध्यक्ष घलेको भनाइ छ ।

नासो गाउँपालिकाको नाम्के खर्क, डाँफे लेक, चामे गाउँपालिकाको लमजुङ बेसक्याम्प, नार्पाभूमि गाउँपालिकाको चुम्री खर्क, याक खर्क, आइस लेक र मनाङ ङिस्याङ गाउँपालिकाको गुमछाङ, याक खर्क, लेदर, तिलिचो बेसक्यामलगायतका खर्कमा यार्सा पाइन्छ । जिल्लाकै राजश्व सङ्कलनमा उल्लेखनीय टेवा पुर्याउने यार्सागुम्बा सङ्कलनमा रोक लगाएपछि आयस्रोतसमेत घाटा हुने देखिएको संरक्षण व्यवस्थापन समिति (सिएमसी) नासो गाउँपालिकाका अध्यक्ष यादव घलेले बताए । गत वर्ष स्थानीयलाई रु १० देखि १५ हजार पुर्जी काटेर यार्सा टिप्न अनुमति दिइएको भए पनि यस वर्ष टिप्नै नपाइने भएको उनले बताए । “गत वर्ष जिल्ला बाहिर तथा व्यापारीले भने रु २० देखि ४० हजारसम्मको कुपन लिएर यार्सा टिप्ने अनुमति लिएको थियो”, उनले भने ।

वैशाख दोस्रो सातादेखि जेठसम्म मौसमका रुपमा मानिने र अनुमति लिएर यार्सागुम्बा टिप्न जाने गरेको नासो गाउँपालिका–२ का वडाध्यक्ष भीमबहादुर गुरुङले बताए । जिल्लामा यार्सा टिप्नका लागि अनुमति दिँदा स्थानीयवासीलगायत बाहिरबाट आउने मानिसमा कोभिड– १९ को सङ्क्रमण हुन सक्ने र मनाङमा फैलिन सक्ने जोखिम न्यूनीकरणका लागि यार्सा टिप्न निषेध गरिएको मनाङ ङिस्याङ गाउँपालिकाका अध्यक्ष कान्छा घलेले बताए । मनाङको मुख्य आयस्रोतका रुपमा रहेको यार्सागुम्बा टिप्न अनुमति लिएर मात्रै जाने गरेको भए पनि यस वर्ष रोक लगाइएको अन्नपूर्ण संरक्षण क्षेत्रका प्रमुख बाबुलाल तिरुवाले बताए । तालाडाँडा, लार्केपास, चीनको बोर्डरमा पर्ने नार्पाभूमि र थोराङ्ला भञ्ज्याङ यार्सा गुम्बा टिप्न जाने नाका हुन् ।

Related News

सम्बन्धित समाचार

hero news full width