निःशुल्क खाना खुवाउँदै, गाडी चढाउँदै

आदर्श समाज सम्वाददाता
वैशाख ८, २०७७
RameshGiri_BKT_RSS_(2)

उपत्यका छाडेर घर फर्कने बटुवादेखि भोकै रहेका नागरिकलाई मध्यपुरथिमिको गठ्ठाघरमा खाना खुवाउदै। जिल्ला खेलकुद बिकास समिति भक्तपुरका अध्यक्ष श्रीभक्त कासिछ्वाका अनुसार लकडाउन अबधीभर वैशाख १५ गतेसम्म निःशुल्क खानाको व्यबस्था गरिएको छ। तस्विरः रमेश गिरी, रासस

बर्दिया घर भएका हरिबहादुर चन्द नयाँ वर्षको राति ९ बजे बुटवल आइपुग्नुभयो । बर्दियाबाट सोलुखुम्बु मजदूरीका लागि जानुभएका चन्द झण्डै ११ दिनको पैदल यात्रा गर्दै बुटवल आउँदा थकाइ, भोक र प्यासले लखतरान हुनुहुन्थ्यो ।  बुटवल वडा नं १ का जनप्रतिनिधिसहित स्थानीयवासीले राति सडक किनारामा विश्राम गरिरहेका चन्दसहितका १२० जना मजदूरलाई भेटे । उनीहरु तत्कालै तिनको उद्धारमा लागे ।

वडाध्यक्ष महेन्द्र लिगलसहित स्थानीयवासीले खाना पकाएर तिनलाई खुवाए । सोही स्थानमै तत्कालै स्वास्थ्यकर्मीको टोलीले उनीहरुको स्वास्थ्य जाँच गर्यो । गाडीको व्यवस्थापन गरेर उनीहरुलाई गन्तव्यतर्फ पठाउनेसम्मको काम भयो ।

फाेटाेः समतल

सोलुखुम्बुबाट पैदलै आइपुग्नुभएका चन्दले बुटवलमा गरिएको परोपकारले घरैको जस्तो याद आएको र थकाइसमेत मेटिएको प्रतिक्रिया दिनुभयो । कर्णाली र सुदूरपश्चिमका विभिन्न जिल्लाका मजदूर ११ दिन लगाएर पैदलै सोलुखुम्बुबाट बुटवल आइपुगेका थिए । उनीहरु नियमित मजदूरी गर्दै आएका ठाउँमा काम रोकिएको, दैनिक खर्च सकिएको र काम खुल्ने कुनै टुङ्गो नभएपछि सामूहिकरुपमा घर जान हिंँडेका थिए।

सोही टोलीमा काठमाडौँबाट आउनुभएका बैतडीका अमबहादुर अवस्थीले भोक र थकाइका बेला बुटवलले गरेको व्यवस्थाले सबै पीडा भुलाएको बताउनुभयो ।

  • कोभिड–१९ को संक्रमण फैलिन नदिन सरकारले लकडाउन गरेदेखि नै बुटवल उपमहानगरपालिकाले राजमार्गमा अलपत्र यस्ता मजदूरको उद्धार गरी खानपिन तथा गन्तव्यमा पुग्ने सवारी साधनको समेत व्यवस्थापन गर्दैआएको छ।

बुटवल आइपुगेका पैदलयात्रु १७५ जनालाई बस र टिपरमार्फत शनिबार बर्दिया, कैलाली र दाङसम्म पठाइएको वडा नं १२ का वडाध्यक्ष दुर्गा सुवेदीले जानकारी दिनुभयो । आइतबारसम्म एक हजार तीन सय सम्मलाई खाना खुवाउने, स्वास्थ्य परीक्षण गर्ने र गाडीको व्यवस्था गरेर घरसम्म पठाउने काम भएको बुटवल उपमहानगरपालिकाका प्रवक्ता रामप्रसाद रेग्मीले जानकारी दिनुभयो । निजीक्षेत्र, समाजसेवी र मनकारीको सहकार्यमा पैदल यात्रीको उद्धार, खानपान र यातायातको समेत व्यवस्था मिलाइएको उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले बताउनुभयो।

दाङ

यसरी लामो पैदल यात्राबाट गन्तव्यमा पुग्न दाङ आइपुगेका पैदल यात्रुलाई दाङमा पनि खानेबस्ने व्यवस्था गरिएको छ । तुलसीपुर, घोराही तथा लमहीमा पैदल यात्रुलाई खाने, बस्ने तथा यातायातको व्यवस्थापन गरिएको छ । यस्तो अवस्थामा सबैले आआफ्ना ठाउँबाट सहयोग गर्नुपर्ने भन्दै आफूहरुले खानेबस्ने तथा यातायातको व्यवस्थापन गरेको तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष वीरबहादुर रावतले बताउनुभयो।

  • काठमाडौँ, दोलखा र गोरखाबाट आइतबार मात्र दाङ आइपुगेका पूर्वीरुकुम, सल्यान र पश्चिम दाङका ५९ मजदूरलाई तुलसीपुरको अरनिको मैदान अगाडि खानापिनको व्यवस्थापन गरेर गाडीबाट पठाइएको समाजसेवी बिम रिजालले जानकारी दिनुभयो ।

उहाँले पैदल यात्रुको खानाका लागि चामल र तेललगायत खाद्य पदार्थ उपलब्ध गराउनुभएको छ । अन्य व्यवस्थापन तुलसी उपमहानगरपालिकाको समन्वयमा यहाँका १० संघसंस्थाले गर्दै आएका छन्।

परासी

प्रदेश नं ५ को पूर्वी प्रवेश नाका बर्दघाटदेखिपश्चिम बर्दियाको ठाकुरबाबा नगरपालिकासम्मका स्थानीय तहले पैदलयात्रीको व्यवस्थापन गरेका छन् ।

  • बर्दघाट नगरपालिकाका प्रमुख धीरज शर्मा बस्याल पैदल यात्रीलाई शुरुदेखि नै खानपिन र सकेसम्म सवारी साधनको व्यवस्थापन गरिँदै आएको बताउनुहुन्छ ।

उहाँका अनुसार शुक्रबारदेखि आजसम्म मात्र झण्डै तीन सयको उद्धार र व्यवस्थापन गरिएको छ । उहाँले भन्नुभयो, “पैदल यात्रीलाई खानपिन, स्वास्थ्य जाँच र गन्तव्यसम्म पुग्न गाडीको समेत व्यवस्था गरेका छौँ।”

रुपन्देहीको सैनामैना नगरपालिका बुटवलसंँग जोडिएको राजमार्ग क्षेत्रको नगरपालिका हो । सो नगरपालिका क्षेत्रमा पनि पैदल यात्रु विभिन्न स्थानमा दैनिक विश्राम गरेका हुन्छन् । नगरपालिकाले सैनामैनाका निजी क्षेत्र र सहयोगदाताका सहयोगमा खानपिनको व्यवस्थापन गर्दै आएको र गन्तव्यसम्म पुर्याउन प्रहरीको सहयोगमा गाडीको व्यवस्थापन गर्दैआएको सैनामैना नगरपालिकाका प्रमुख चित्रबहादुर कार्की बताउनुहुन्छ । नगरपालिकाले पैदलयात्रीको उद्धारको काम लकडाउन शुरु भएदेखि नै गर्दै आएको र झण्डै २ हजारको उद्धार तथा व्यवस्थापन गरेको छ । उहाँले भन्नुभयो, “ अहिले पनि ७५, ८० जना पैदल यात्रीलाई बिहानको खाजा खुवाउँदै छाैं, त्यसपछि गाडी चढाएर पठाउछौँ।”

चन्द्रौटा

पूर्वपश्चिम राजमार्गमा पैदल यात्रा गर्ने नागरिकलाई स्थानीय तहको समन्वयमा कपिलवस्तुमा राजमार्गसँग जोडिएका शिवराज, बुद्धभूमि र वाणगंगा नगरपालिकाका युवाले खानपिनको व्यवस्था गरेर गन्तव्यसम्म पुर्याउन सहयोग गरेका छन् । शिवराज १ शिवपुरमा एक साताभित्र मात्रै दुई सय पैदल यात्रुलाई खाना खुवाएर गन्तव्यतर्फ पठाइएको छ । सिन्धुपाल्चोक, विराटनगर, काठमाडौँलगायत ठाउँबाट दाङ, बाँके, बर्दिया, कैलालीलगायत जिल्लामा जान पैदलै आइपुगेकाहरुको शिवपुर हाटबजार चौरमा खानाको व्यवस्था गरिएको स्थानीयवासी कृष्ण थापाले बताउनुभयो ।

  • पैदलमार्ग हुँदै आएका यात्रुको स्वास्थ्य परीक्षण पनि गरिएको शिवपुर स्वास्थ्यचौकीका प्रमुख लेखनाथ पौडेलले बताउनुभयो ।

आइतबारसम्म वाणगंगा नगरपालिकाले पनि झण्डै साढे दुई सय पैदलयात्रीलाई पश्चिम पठाएको छ । काठमाडौँलगायतबाट पैदलयात्रा हुँदै वाणगंगा आएका उनीहरुलाई सवारी साधनको प्रयोग गरेर जिल्ला नाकासम्म पुर्याउने काम गरिएको नगरपालिकाका प्रवक्ता विष्णु गिरीले बताउनुभयो।

प्युठान

पैदलयात्रीलाई गुल्मी, बाग्लुङ, प्युठान, दाङ, बाँके, बर्दिया जिल्लाका विभिन्न स्थानीय तहबीचको समन्वयमा सम्बन्धित स्थानीय तह र मजदूरको घरसम्म पुर्याउने काम स्थानीय तहले गरेका छन् । प्युठान नगरपालिका तथा गौमुखी, झिमरुक, माण्डवी र सरुमारानी गाउँपालिकाको समन्वयमा मात्रै सयौँ पैदलयात्रीलाई उद्धार तथा खानपिनको व्यवस्थापन गरेर गन्तव्यसम्म पुर्याउने व्यवस्था गरिएको प्युठान नगरपालिकाका पमुख अर्जुनकुमार कक्षपति बताउनुहुन्छ।

लामो पैदलयात्राबाट निकै दुःख पाएको अवस्थामा उद्धार हुँदा राहत मिलेको बर्दियास्थित बारबर्दिया नगरपालिका ९ बनगाईकी सीता सार्कीले बताउनुभयो । बाटामा पानी मागेर खान खोज्दा नदिने तथा धारोमा पानी आइरहेको देखेर खान खोज्दा छुन समेत नदिने पीडा ब्यहोर्नुपरेको उहाँले सुनाउनुभयो।

प्युठान हुँदै बाहिरिने पैदल यात्रीलाई स्थानीय तहले उद्धार गरी यातायात, खानपिन र आवश्यकतानुसार आवासको समेत व्यवस्था मिलाएको प्युठानका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पन्तले बताउनुभयो।

बाँके

शुक्रबार मात्रै धादिङको धार्केबाट हिँडेरै नेपालगञ्ज आइपुगेका ५२ भारतीयलाई क्वारेन्टाइनमा राखिएको छ । चौध दिनपछि कोरोना संक्रमणको परीक्षण गरेर भारतीय अधिकारीहरुसँगको समन्वयमा पठाउन सकिने नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा धवलशम्शेर राणाले बताउनुभयो।

  • बाँकेको राप्तीसोनारी गाउँपालिकाले दाङको सीमाबाट करीब ७५ किलोमिटर पश्चिम कोहलपुरसम्म पुर्याउने काम गरिरहेको छ । त्यहाँबाट कोहलपुर नगरपालिकाले बाँके–बर्दियाको मानखोलासम्म पुर्याउने गरेको छ ।

‘सम्बन्धित स्थानीय तहहरुसँग समन्वय गरेर पैदल यात्रुहरुलाई गन्तव्यसम्म पुर्याउने काम गरिरहेका छौंँ’ कोहलपुर नगरपालिकाका प्रमुखख लुटबहादुर रावतले भन्नुभयो।

पैदल यात्रुलाई तीन दिनदेखि ट्रयाक्टर र ट्रकमार्फत गन्तव्यसम्म पुर्याउने व्यवस्था मिलाइएको राप्तीसोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारुले बताउनुभयो । गाउँपालिकाले तीन दिनयता एक हजार ५०० भन्दा बढीको उद्धार गरिसकेको छ।

चितवन

चितवनको एकमात्र गाउँपालिका इच्छाकामना गाउँपालिकाले पैदलयात्रीलाई सहजता प्रदान गर्दै आएको छ । विभिन्न जिल्लाबाट गाउँपालिका हुँदै घर जान हिडेँका पैदलयात्रीलाई खाजा खुवाउँदै पठाउने गरेका हुन् ।

  • लकडाउनका कारण प्रभावित भई राजधानी काठमाडौँ र धादिङबाट घर जान राजमार्गमा हिँडेरै आएका पैदलयात्रीलाई चितवन र धादिङको सीमाना मौवाखोलामा खाजा खुवाउँदै गाडीमा चढाएर गन्तव्यतर्फ पठाउने गरिएको गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले जानकारी दिनुभयो ।

पैदलयात्रुलाई आवश्यक सहयोग गर्न निरन्तर आफैँ खटिएको गाउँपालिका अध्यक्ष गुरुङले बताउनुभयो।

अध्यक्ष गुरुङले भन्नुभयो, “म केही दिन अघिदेखि निरन्तर खटिरहेको छु केन्द्रीय राजधानी काठमाडौँ र धादिङदेखि आएका पैदलयात्रीलाई खाजा खुवाएर गाडी चढाउँदै उनीहरुलाई गन्तव्यतर्फ पठाउने गरेको छु ।” गाउँपालिकाले पैदलयात्रीको स्वास्थ्य जाँचसमेत गरी पठाउने गरिएको उहाँले बताउनुभयो।

अध्यक्ष गुरुङका अनुसार अहिलेसम्म झण्डै एक हजार पैदलयात्रीलाई मौवाखोलाबाट गाडीमा चढाएर गन्तव्यमा पठाएका छन् । यतिमात्र नभई गाउँपालिकाले लकडाउनकै बेला देशका विभिन्न स्थानमा काम गर्दागर्दै अलपत्र परेका इच्छाकामना गाउँपालिकाका झण्डै १०० मजदूरलाई समेत उद्धार गरेका थिए।

बनेपा

पनौती–बनेपा–काठमाडौँ चल्ने बसका सहचालक प्रकाश थामीले बन्दाबन्दीपछि अहिलेसम्म अरुले जुटाइएको सामूहिक व्यवस्थामा खाना खाँदै आउनुभएको छ । सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–४ का थामी होटलमा नै खाने र गाडीमा सुत्ने गरेर जीवन धान्दै आउनुभएकामा बन्दाबन्दीमा होटलहरु बन्द भएपछि तीनचार दिनसम्म पानी र चिउरा मात्रै खाएर बस्नुभएको थियो।

लकडाउनका बेलामा विभिन्न जिल्लाबाट हिँडेरै बनेपा आइपुगेका बटुवालाई बनेपाका ब्यवसायीहरुले खाना ख्वाउने व्यवस्था गरेपछि काखे बालकसहित शनिबार गन्तव्यतर्फ जानुअघि बसपार्कमा खाना खाँदै । तस्वीरः पेमा लामा,रासस

काभ्रेपलाञ्चोकको पनौतीमा रहेको पनौती युवा मञ्चले बन्दाबन्दीका कारण खाना खान नपाएर भोकै भएका रिक्सा चालक, गाडी मजदुर र सडक बालबालिकाका लागि खाना ख्वाउने व्यवस्था गरेपछि सो सामूहिक मेस मिलेको हो । काम खोज्न घरबाट निस्कनुभएका उहाँ पहिला धुलिखेल–काठमाडौंको बसमा डेढ वर्षजति काम गरेर अहिले पनौती काठमाडौंको गाडीमा काम थाल्नुभएको छ । “काम हुने बेलामा त दिनको आठ सयसम्म कमाउँछ, त्यसबाट खाने र बचेको घरमा पठाउने गर्दै आएको थिएँ ।” उहाँले भन्नुभयो, “कोरोनाको कारण काम नहुँदा यसरी खानाको व्यवस्था भएर राम्रो भएको छ।”

सोही रुटका सहचालकको काम गर्दै आउनुभएका खानीखोला गाउँपालिका वडा नं. २ फलामेटारका अर्का मजदुर कुमार तामाङले पनि त्यहीँ सामूहिक रुपमा खाना खाएर गाडीको सुरक्षा गर्दै आएको बताउनुएको छ । उहाँ पनि बिना कोठा गाडीमा नै सुत्ने र होटलमा खाना खाएर जीवन गुजारा गर्दै आउनुभएको थियो । काम गरेवापत् साहुले खानाबाहके अरु सुविधा नदिएको बताउँने उहाँको सीप सिकेर चालक बन्ने धोको छ।

पनौती बजारमा नै अर्काको घरमा काम गरेर जीवन गुजारा गर्दै आउनुभएका तारा लामाले पनि सोही ठाउँमा खाना खाने र चार महिनाको काखे बालकसहित अर्का एक छोरीलाई त्यही खाना ख्वाएर जीवन धान्दै आउनुभएको छ । दैनिक अर्काको काम गरेर हातमुख जोड्ने काम गर्दै आएकामा बन्दका कारण त्यो पनि गुमेपछि अरुले बाँडिदिएको ठाउँमा गएर पेट भर्ने गर्दै आएको बताउनुभयो ।

मञ्चका अध्यक्ष सौगात बस्नेतले लकडाउनका कारण धेरैले खाना नै नपाउने अवस्था देखेपछि नगरपालिका प्रमुख भीम न्यौपाने र पनौतीको प्रहरीसँग अनुमति लिएर खाना ख्वाउने काम शुरु गरेको बताउनुभयो ।

  • यहाँ दैनिक ४५ जना सम्मलाई दिनको दुई पटक खाना ख्वाइएको छ ।

खानाका लागि स्थानीय जिटी रेष्टुरेण्टका सञ्चालक सञ्जय सिं ठकुरीले सहयोग गरिरहनुभएको छ । त्यससँगै बाटोमा हिँड्ने यात्रुहरुलाई पनि खाना ख्वाउने व्यवस्था गरिरहेको छ । त्यसरी सहयोग गर्नेमा ५ जना देखि १० जना मञ्चका सदस्यहरुले स्वंयसेवकको रुपका काम गरिरहेका छन् ।

भक्तपुर

हिँडेरै सिन्धुली जान लागेको रामप्रसाद कार्कीले पेटभरि खाना खानुभयो। हिँडेरै आउँदा शनिबार कौशलटारमा प्रहरीले रोकेर ह्वाई पार्टी प्यालेसमा बास बस्ने व्यवस्था गरेपछि घर जानुअघि गठ्ठाघरको बर्गर हाउसमा उहाँसँगै रहनुभएका १५० बटुवा र अन्य ५० गरी २०० जनाले खाना खाएका छन्। आजबाट जिल्ला खेलकुद विकास समिति भक्तपुरका अध्यक्ष श्रीभक्त कासिछ्वाको सहयोग एवं नेतृत्वमा द बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेन गठ्ठाघरका सञ्चालक वसन्त लामा, सुनिल बज्राचार्य र मानवीय आस्था नेपालको समन्वयमा निःशुल्क खाना खुवाउने व्यवस्था गरेको हो ।

उपत्यका छाडेर घर फर्कने पैदल यात्रुदेखि भोकै रहेका व्यक्तिलाई मध्यपुरथिमिको गठ्ठाघरमा निःशुल्क खाना खान लामबद्ध । तस्विरः रमेश गिरी,रासस

साँझ गाडीमा हालेर घर फर्काउने गरी पैदलयात्रुलाई रोकेको प्रहरीले शनिबार घर पठाउन नसकेपछि भोकै उनीहरुलाई पहिलो दिन बिहान ११ बजे एकैसाथ खाना खुवाएको नागरिक कम्युनिटी टिचिङ अस्पतालका सञ्चालकसमेत रहनुभएका कासिछ्वाले जानकारी दिनुभयो ।

जुनसुकै ठाउँबाट भोकै आउने व्यक्तिलाई गठ्ठाघरमा भात, दाल, तरकारी र अचार खुवाउने जानकारी दिँदै कासिछ्वाले भन्नुभयो, “खानेकुरा नभएर कोही पनि भोकै बस्नु पर्दैन, पैदलयात्रु कोही भोकै हिँड्नु पर्दैन, हामीले आजदेखि निःशुल्क खाना खुवाउन शुरु गरेका छौँ, यहाँ आइदिनुस् ।”

त्यसैगरी सूर्यविनायक नगरपालिका–८ का वडाध्यक्ष किरण थापाको नेतृत्वमा भक्तपुरको जगातीमा पनि पैदलयात्रु, सडक मानव, मजदुर एवं विपन्न वर्गलाई खाना खुवाउन शुरु गरेको छ । काठमाडौँबाट पूर्व भएर पैदल जाने यात्रुलाई अरनिको राजमार्ग खण्डअन्तर्गत जगातीचोकमा सिपाडोल क्षेत्र परोपकार समाजले मानवीय आस्था नेपालको सहकार्यमा लकडाउनभरि खाना खुवाउने व्यवस्था गरेको वडाध्यक्ष थापाले जानकारी दिनुभयो ।

वडाध्यक्ष थापाले भन्नुभयो, “हिँडेर आएका पैदलयात्रुलाई प्रहरी बृत्त जगाती अगाडि सड्कमा रोकेर खाना खुवाउने, दिउँसो खाजा खुवाउने र बेलुका प्रहरीको समन्वयमा विभिन्न सवारी साधनमा राखेर घर पठाउने व्यवस्था गरेका छौँ, अब हरेक दिन यो सडकमा कोही भोकै हिँड्नु पर्दैन।” सिपाडोल परोपकार समाजका अध्यक्ष मणिरत्न बज्राचार्यका अनुसार प्रहरीसँगको समन्वयमा थर्मलगनबाट पैदलयात्रीको तापक्रम परीक्षण गरी, स्यानिटाइजर गरी खाना खुवाउने व्यवस्था गरेको छ ।

त्यसैगरी मानवीय आस्था नेपालले मानव सेवा आश्रमसँगको समन्वयमा विगत २० दिनदेखि दैनिक सडक मानव, पार्टी, मन्दिर र गल्लीमा बस्दै आएका असाह्य मानिसलाई दैनिक उनीहरु बसेकै ठाउँमा पुगेर खाना खुवाउँदै आएको छ।

लकडाउन शुरु भएपछि मानवीय आस्था नेपालले जिल्लाका चारवटै नगरपालिकामा गरिब, असहाय, मजदुर, अतिविपन्न परिवारका लागि जिल्लाका चारवटै नगरपालिकामा खाद्यान्न वितरण गर्दै आएको छ । प्रहरीसँगको समन्वयमा पैदलयात्रुलाई खाना खुवाएर विभिन्न गाडीमा राखेर घर फर्काउने व्यवस्था गरेको छ।

धादिङ

बन्दी (लकडाउन) पछि घर हिँडेका मजदुरलाई धादिङका स्थानीय सरकार र सामाजिक कार्यकर्ताले खाना र खाजा खुवाएर घरतर्फ पठाउन थालेका छन् ।

पैदरयात्री मजदूरलाई गजुरी गाउँपालिकाको अदामघाटमा गाउँपालिका र स्थानीयबासीको सहयोगमा खाना खुवाउँदै। तस्वीरः सीताराम अधिकारी, रासस

धादिङका विभिन्न स्थानलगायत काठमाडाैं, ललितपुर, भक्तपुरबाट आफ्नो घर देशका विभिन्न स्थानमा जानका लागि हिँडेका मजदुर समस्यामा परेको देखेपछि राजमार्गमा कार्यालय रहेका स्थानीय तहको सरकार र सामाजिक अभियानकर्मीको सक्रियतामा उनीहरूलाई सहयोग गरिएको हो ।

धादिङ प्रवेशपछि नौबिसेमा स्थानीय सामाजिक कार्यकर्ताको सक्रियतामा बटुवा र खटिने सुरक्षाकर्मीलाई फलफूल खुवाइएको छ । मधुकुमार श्रेष्ठको सक्रियतामा फलफूल वितरण गरिएको हो । बन्दाबन्दीका कारण काम गर्न नपाएपछि मजदुरी गर्नेहरु खाने समस्या परेका कारण लामो दूरी हिँडेरै घरतर्फ जान लागेका हुन् ।

गजुरी गाउँपालिकाले आदमघाटमा १५० मजदुरलाई खाना खुवाएको छ । पैदलयात्री ३०० मजदुरलाई खाना, खाजा खुवाएको आदमघाटबाट विष्णु श्रेष्ठले जानाकारी दिनुभयो । गजुरी बजारमा पनि गजुरी गाउँपालिकाले एक साताअघिदेखि पैदलयात्री मजदुरलाई खाजाको व्यवस्था गर्दै आएको थियो । यसबाट करिब ४०० मानिसले खाजा खाएको गाउँपालिकाका उपाध्यक्ष सीता ढुङ्गानाले जानकारी दिनुभयो ।

चरौँदीमा स्थानीय युवाको सक्रियतामा पैदल हिँडेका मजदुरलाई खाजा र पानीको व्यवस्था गरिएको छ । करिब ३०० मानिसलाई खाजा खुवाइएको छ । धादिङ प्रवेश गरेपछि जुन क्षेत्रमा मजदुरलाई स्थानीय सरकारहरुले फेला पार्छ त्यही स्थानीय सरकारले खाना खाजा खुवाउने र कुनै न कुनै सवारी साधनमा चढाएर पठाउन थालेकाे बताइएकाे छ।

Related News

सम्बन्धित समाचार

hero news full width