बेनीमा कोभिड–१९ रोकथाम र व्यवस्थापनसम्बन्धी अभिमुखीकरण

आदर्श समाज सम्वाददाता
वैशाख ८, २०७७
SantoshGautam_Myagdi_RSS_7interaction

स्वास्थ्य निर्देशनालय पोखराले आइतबार बेनीमा आयोजना गरेको कोभिड–१९ रोकथाम र व्यवस्थापनसम्बन्धी अभिमुखीकरण कार्यक्रममा सहभागि सामाजिक विकासमन्त्री नरदेवी पुन, चिकित्सक, सुरक्षा अधिकारी र जनप्रतिनिधिहरु । तस्वीरः सन्तोष गौतम, रासस

स्वास्थ्य निर्देशनालय पोखराले आइतबार बेनीमा कोभिड–१९ रोकथाम र व्यवस्थापनसम्बन्धी अभिमुखीकरण कार्यक्रम गर्याे । कार्यक्रमममा सामाजिक विकासमन्त्री नरदेवी पुन, चिकित्सक, सुरक्षा अधिकारी र जनप्रतिनिधि सहभागिता थियाे।

गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुनले कोरोना रोकथामको प्रयासलाई प्रभावकारी र सफल बनाउन स्रोत, साधन र शक्तिको उच्चतम परिचालन गरिएको बताउनुभएको छ । स्वास्थ्यकर्मी र चिकित्सकलाई उच्च मनोबलका साथ काम गर्न आग्रह गर्दै मन्त्री पुनले उपचार र रोकथामका लागि आवश्यक पर्ने सामग्री, औषधि र उपकरणको अभाव हुन नदिने बताउनुभयो ।

“कोरोना सङ्क्रमितको उपचारमा खटिनेलाई अतिरिक्त सुविधा, बीमाको व्यवस्था गरेका छौँ”, मन्त्री पुनले भन्नुभयो, “पिपिइ, मास्क, स्यानिटाइजर, पञ्जा, चश्मा, भिटीएस, भिएचएम, रिएजेण्टलगायतका सामग्री नभएर स्वास्थ्यकर्मी र चिकित्सकलाई जोखिम हुने अवस्था आउन दिँदैनौँ ।”

बजारमा पर्याप्त सामान नभएको अवस्थामा विद्यमान खरिद ऐनअनुसार सामग्री जुटाउन समस्या परेको उहाँले बताउनुभयो । खरिद प्रक्रियासँगै सामाजिक सङ्घसंस्था र व्यक्तिबाट सहयोग जुटाएर भए पनि व्यवस्थापन गरिएको बताउनुभयो । सामाजिक दूरी कायम गर्नु र बन्दाबन्दीको पालना गर्नुनै कोरोनाबाट बच्ने अचुक औषधि भएको मन्त्री पुनको भनाइ थियो । पश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालय पोखराका माइक्रोबायोलोजिष्ट धर्मराज भट्टले अनावश्यक काममा पिपिइको प्रयोग नगर्न आग्रह गर्नुभयो ।

चिकित्सक बुद्धीसागर लामिछानेले कोरोनाको त्रासका कारण अन्य रोगका बिरामीले उपचार नपाउने अवस्था आउन नदिन सचेत बन्नुपर्ने बताउनुभयो । डा राम्जी शर्माले पहिचान भएका सङ्क्रमितको सफल उपचार र थप सङ्क्रमण फैलन नदिने रणनीतिअनुसार काम गर्नुपर्ने बताउनुभयो ।

बेनी अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीका साथै कोभिड–१९ कमाण्ड पोष्ट, जनप्रतिनिधि र सुरक्षा अधिकारीलाई कोरोना सङ्क्रमितको पहिचान, उपचार र व्यवस्थापनका साथै सामग्रीको प्रयोगका विषयमा जानकारी गराइएको थियो । प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले विदेशबाट आएका र शङ्कास्पद १३० जनाको द्रुत परीक्षण गर्दा कोरोना सङ्क्रमण नभएको पुष्टि भएको बताउनुभयो । सम्भावित जोखिमलाई आँकलन गरेर जिल्लाभर १७५ श्यया क्षमताको क्वारेन्टाइन बनाएको जानकारी दिनुभयो ।

उहाँका अनुसार बेनीमा २० श्यया क्षमताको आइसोलेशन वार्ड स्थापना गर्न लागिएको छ । “बेनी अस्पतालको वरपर चिकित्सकको सहज पहुँच पुग्ने ठाउँमा आइसोलेसन स्थापना गर्ने निर्णय भएको छ”, ढकालले भन्नुभयो, “लागत तयार पारेर बजेट व्यवस्थापन गरेका छौँ । अबको पाँच दिनमा आइसोलेसन तयार हुन्छ ।” यसअघि बेनी अस्पतालमा छ श्ययाको आइसोलेसन स्थापना गरिएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width