चुलो बल्नै छोडे घरमै खाना, पोखरा ५ बाट शुभारम्भ

आदर्श समाज सम्वाददाता
वैशाख ७, २०७७
food (4)

पोखरा, ७ वैशाख । कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिम न्यूनीकरणको लागि सरकारले देशभर लागू गरेको लकडाउन एक महिना हुन लागिसकेको छ ।

सुरुवातमा एक साताका लागि भनिए पनि लकडाउन अवधि लम्बिदै जाँदा दैनिक ज्यालादारी तथा मजदुर वर्ग सहर बजारमा आक्रान्त छन् ।उनीहरुमध्ये कतिपयको भान्छामा चुलो बल्न छोडेको छ । भोकै मरिने हो कि भन्ने डरले नेपालका विभिन्न ठाउँबाट मानिसहरु सुरक्षित स्थान खोज्दै रातारात कोसौं टाढा पैदलयात्रामा हिड्ने गरेका छन् । उनीहरुको भोक, प्यास, थकानको कुरा गरी साध्य छैन ।

यही विषय ध्यानमा राखेर पोखरा महानगरपालिकाले पनि त्यस्तो वर्गको लागि रेडिमेड (तयारी) खाना घरघरमा पु¥याउने व्यवस्था सुरुवात गरेको छ । कोही भोकै मर्नु नपरोस् भन्ने नीतिअनुरुप अति विपन्न मजदुर, अशक्त, असहाय, अपाङ्गता भएका, सुत्केरी महिला जो लकडाउनका कारण अत्यावश्यक खाद्यबस्तु अभावमा परेका छन्, उनीहरुलाई लाभ पुग्ने महानगरको अपेक्षा छ ।पोखरा–५ वडा कार्यालयले आइतबारदेखि सो कार्यको सुरुवात गरेको महानगरका प्रवक्ता समेत रहेका वडाध्यक्ष धनबहादुर नेपालीले जानकारी दिए ।उनले भने, ‘पोखरामा राहत लिनेहरु एकपछि अर्को थपिदै गए । पीडित नभै अर्काे वर्गसामु राहत जाने डरले वडा ५ को सर्वदलीय बैठकले वडास्तरमा निःशुल्क खाना व्यवस्था गर्ने निर्णय गरेको हो । पछि महानगरबाट सबै वडामा जाने योजना बन्यो ।’

बैठकले अतिविपन्न र खाद्यसंकटमा परेका मजदुरलाई फूडबैंक स्थापना गरी खाना खुवाउने निर्णय गरेबमोजिम आइतबार वडाका ६ वटा उपकेन्द्रबाट रेडिमेड (तयारी) खाना उपलब्ध गराएको हो । वडाको जिरो किमी, गोलचौतारा, मनकामना मन्दिर, चिन्तनशील महिला समूहको भवन, रातामाटा लभ्ली हिल र धारापानी पाटी केन्द्र तोकिएको छ ।वडामा हालसम्म झण्डै एक हजार घर परिवारलाई राहत बाँडिएको छ । वडाले पहिलो चरणमा ७ सय घरपरिवारलाई राहत बाँड्यो । पछि सोही वडामा विभिन्न संघसंस्थाले १ सय ७३ जना परिवारलाई बाँडेको थियो । त्यस्तै पछि अत्यावश्यक भन्दै वडाले १ सय घरपरिवारलाई राहत उपलब्ध गराएको वडाध्यक्ष नेपालीले बताए ।

बहिनी एडुकेयर फाउण्डेसनले वडासँगको अनुमतिमा ७ सय घरपरिवारलाई रेडिमेड खाना खुवाउने जनाएको छ ।उता, पौरखी युवा समूहलाई महानगरले खाद्यान्न उपलब्ध गराउने र सो समूहले वितरणमा व्यवस्था मिलाउने भएको छ । सो समूहले आइतबार नै वडा ५ सहित, वडा ७ र ८ मा सडक बालबालिकाहरुलाई खाना उपलब्ध गराएको थियो ।वडा ५ को सन्दर्भमा खाना भने एक ठाउँमा पकाएर केन्द्र–केन्द्रमा पुर्याउने व्यवस्था गरिएको छ । हाल शान्तिनगर बैंक्युटमा खाना पाक्छ । हरेक केन्द्रमा कम्तीमा ३ जना स्वयंसेवी खटाइएको वडाध्यक्ष नेपालीले बताए । पहिलो दिन आइतबार एडुकेयरतर्फबाट १ सय जना र पौरखीबाट ८० जनालाई रेडिमेड खाना बाँडियो । प्याकिङ खानामा भात, तरकारी र दाल समावेश छ । बिहान १० बजे र साँझ ६ बजे पाकिसकेको खानाका हरेक केन्द्रमा पुर्याइन्छ । संकलित नामावलीअनुरुप सामाजिक दुरी कायम गरी प्याकिङ खाना हस्तान्तरण गरिन्छ ।

‘भोलि (सोमबार)४ सय जनाको निम्ति खाना बाँड्नुपर्ने नामावली आएको छ । यो पनि चुनौती बन्दै गएको छ । अब कम्तीमा ४ सय जनाको लागि लकडाउन अवधिभर नियमितरुपमा वडाले खाना बाँड्नेछ,’ उनले भने ।

वडा ५ को सिको महानगरका अन्य वडाले पनि गर्दैछन् । वडा ८ ले बैशाख १५ देखिमात्र खाना खुवाउने जनाएको छ । राहत वितरण पूरै स्थागित गरी खाना खुवाइने हो भन्ने जिज्ञासामा त्यसो नभै अफ्ठयारो परेकालाई अवस्था हेरिकन घरमै पनि खाद्यान्न सहयोग गरिने उनले बताए।

‘महानगरका कुल ३३ वटा वडामध्ये सबै वडामा भने यो समस्या छैन । विशेषगरी वडा १८, २०, २३, २४, २८ र ३३ मा राहत उपलब्ध गराउनुपर्ने नदेखिए पनि बाँडी वडामा समस्या छ,’ नेपालीले भने ।पोखरा महानगरले हालसम्म १९ हजार ९ सय घरपरिवारलाई राहत बाँडिसकेको छ ।

राहतका लागि भन्दै विभिन्न संघसंस्था महानगरले स्थापना गरेको राहत कोषमा नगद तथा जिन्सी हस्तान्तरण गरिरहेका छन् । सो राहत कोषमा कुल ४ करोड रुपैयाँ बढी नगद संकलन भैसकेको महानगर प्रमुख मानबहादुर जिसीले बताए ।

Related News

सम्बन्धित समाचार

  • असुरक्षित टहरामा बस्न वाध्य सुरक्षाकर्मी

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    ढोरपाटन । खिया लागेका जस्तापाता, उप्किएका भित्ता, धमिराले छियाछिया भएका झ्याल ढोका । छानामा ढुंगाहरूले प्लास्टिक अठ्याइएको छ । यो…
  • गण्डकी सरकारले २०८१ मा ३ दिन बिदा दिने

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    पोखरा । गण्डकी प्रदेश सरकारले आउने वर्ष अर्थात् २०८१ सालमा ३ दिन बिदा दिने निर्णय गरेको छ । संघीय सरकारलेभन्दा…
  • किरिया बसेका दाजुभाइ परीक्षामा

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    स्याङ्जा। किरियामा बसेका २ दाजुभाइ एसइईमा सहभागी भएका छन् । पुतलीबजार नगरपालिका ४ स्थित सरस्वती मावि परीक्षा केन्द्रबाट संगम क्षत्री…
  • सुरु भयो एसइई, ५ लाख ४ हजार ४ सय १४ विद्यार्थी सामेल

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    पोखरा । माध्यमिक शिक्षा परीक्षा (एसइर्ई) बिहीबारदेखि सुरु भएको छ । चैत २७ गतेसम्म सञ्चालन हुने यस वर्षको एसइर्ई परीक्षाको…
  • बजेट अभावमा नगर अस्पतालको काम रोकियो   

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    दमौली । बजेट अभावका कारण तनहुँको भिमाद नगरपालिका–६ मा निर्माणाधीन भिमाद अस्पतालको भवन निर्माण रोकिएको छ । भिमाद प्राथमिक स्वास्थ्य…

hero news full width