पोखरा महानगरमा सेनिटाइजर टनेल, मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङद्वारा  शुभारम्भ

आदर्श समाज सम्वाददाता
वैशाख ७, २०७७
sanitizer potho 1

पोखरा, ७ वैशाख । पोखरा महानगरपालिका र नेपाल इन्जिनियरिङ एशोसिएसन (एनइए) गण्डकीको सहकार्यमा निर्माण गरिएको स्वचालित सेनिटाइजर टनेल महानगरको कार्यालय परिसरमा राखिएको छ । कोरोनाको महामारीले विश्व नै आक्रान्त बनेको बेलामा होलबडीलाई सेनिटाइज गरी मानिसको कपडामा भएको भाइरसलाई मार्ने स्वाचालित सेनिटाइजर टनेलको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आइतबार शुभारम्भ गरे ।

कार्यक्रममा बोल्दै मुख्यमन्त्री गुरुङले कोरोना भाइसरबाट बच्ने पहिलो विकल्प लकडाउन भएको बताउँदै उनले सधै लकडाउन सम्भव नहुने भएकाले विज्ञानले विकास गरेको प्रविधिलाई प्रयोग गरेर कोरोनालाई नियन्त्रण गर्नुपर्ने बताए । उनले सर्वसाधरणको भीडभाड हुने स्थान अस्पताल, सरकारी कार्यालयहरु, डिपार्टमेन्टल स्टोर्स लगायतमा यस्तो स्वचालित सेनिटाइजर टनेल राख्नुपर्ने बताए । उनले कोरोनाले अहिले हाम्रो दैनिकलाई मात्र असहज बनाएपनि यसले दीर्घकालीन रुपमा पार्ने आर्थिक असरलाई पनि अहिले देखि नै ‘मेकअप’ गर्ने योजनासहित काम गर्नुपर्ने बताए । लकडाउनको विकल्पमा विज्ञानले विकास गरेको प्रविधिलाई कोरोना संक्रमण रोकथाममा प्रयोग गर्नुपर्ने उनको भनाइ छ ।

कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले इन्जिनियरहरुले बनाएको यो सेनिटाइजर टनेललाई पोखराको ब्रान्ड बनाउनुपर्ने बताए । सेनिटाइजर टनेलले कोरोना संक्रमणलाई रोकथाम गर्न सहयोग पु¥याउने बताउँदै जिसीले टनेल निर्माण गर्ने नेपाल इन्जिनियर एसोसिएसन गण्डकीका इन्जिनियरहरुलाई धन्यवाद दिए ।

करिब ५ सेकेन्डमा यो स्वचालित सेनिटाइजर टनेलले होलबडीलाई सेनिटाइज गरिसक्ने नेपाल इन्जिनिरिङ एसोसिएसन गण्डकीका अध्यक्ष आर्कीटेक इन्जिनियर बाबुराम भण्डारीले जानकारी दिए । उनले गण्डकी प्रदेश र पोखरालाई कोरोना भाइसरबाट सुरक्षति राख्नका लागि गण्डकी प्रदेश तथा पोखराका नाकाहरुमा यस्तो सेनिटाइजर टनेल राख्नु पर्ने बताए । उनका अनुसार यो सेनिटाइजर टनेल बनाउँदा १ लाख ५० हजारको सामग्री लागेको र एनइएका इन्जिनियरले प्राविधिक शिक्षाको उपयोग गरी पोखरा महानगरको यान्त्रिक कार्याशालामा यो टनेल निर्माण गरेको बताए ।

नेपाल इन्जिनियरिङ एशोसिएसन गण्डकीका उपाध्यक्ष धु्रव भट्टराई सेनिटाइजर टनेलको माग आएको खण्डमा प्राविधिक सहयोग निशुल्क गर्न एनइए तयार रहेको बताए । प्रगतिशील इन्जिनियरिङ एसोसिएसन नेपालले समेत एक थान सेनिटाइजर टनेल निर्माण गरी पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई उपलब्ध गराउन तयारी समेत गरेको भट्टराईले जानकारी दिए । उनका अनुसार एक लिटर सेनिटाइजरले १७ जनाको शरीरलाई सेनिटाइज गर्नेछ ।

Related News

सम्बन्धित समाचार

hero news full width