दूधले बजार नपाएपछि किसान पीताम्वरद्वारा पनीर र नौनी उत्पादन

आदर्श समाज सम्वाददाता
वैशाख ७, २०७७
butter

स्याङ्जा, ७ वैशाख । लकडाउनका कारण उत्पादित दुधले बजार नपाएपछि यहाँका एक दुध ब्यावसायीले पनीर, नौनी घ्यू उत्पादन गर्दै  आएका छन् ।

विश्वभर महामारीकोरुपमा फैलिएको कोरोना भाइरसका कारण बजारमा भएका मानिसहरु गाउँ घरमा गएका कारण उत्पादित दुध पूरै खपत नभएकाले लामो समयसम्म राख्न सकिने गरी पनीर, नौनी घ्यू लगायतका परिकारहरु उत्पादन गर्दै आएको यूवा ब्यावसायी पीताम्बर डुम्रेले बताए । यूवा ब्यावसायी डुम्रेको वालिङ नगरपालिका १२ मा ‘पनियारे कृषि फर्म’ मार्फत हाल ९५ वटा गाई तथा भैंसीबाट दैनिक दुई सय ७० लिटर दुध उत्पादन हुने गरेको छ । लकडाउन अवधिमा एकसय ५० लिटर दुध बिक्री हुँदै आएको छ” यूवा ब्यावसायी डुम्रेले भने ।

“बजारमा पहिला खपत हुने दुध अहिले लकडाउनका कारण मानिसहरु गाउँ गाउँमा गएकाले दुध खपत नभएकाले लामो समयसम्म रहन सक्ने गरी पनीर, नौनी घ्यू लगायतका परिकार उत्पादन थालेको हुँ ।” यहाँ उत्पादन भएको दुध, पनीर, नौनी घ्यू वालिङ, गल्याङ तथा बयरघारी बजारमा बिक्री हुने गरेको यूवा ब्यावसायी डुम्रेले बताए । “फर्ममा उत्पादन भएको दुध पूरै खपत नभएपछि यसै खेर फाल्न पनि भएन” यूवा ब्यावसायी डुम्रेले भने “दुध पूरै खपत नभएपछि बाँकी रहेको दुधबाट केही समयसम्म राख्न सकिने वैकल्पिक परिकारहरु उत्पादन गरेको हुँ, जुन राम्रो बिक्री हुने गरेको छ ।”

दुधसँगै पनीर, नौनी घ्यू वालिङ, गल्याङ, बयरघारी, बायँटारी लगायतका बजारमा रहेका डेरीहरुमा बिक्रीका लागि राख्ने गरिएकाले उपभोक्ताहरुले डेरीबाट आवश्यक परिकारहरु खरिद गरी लैजाने गरेको यूवा ब्यावसायी डुम्रेले बताए । डुम्रेले अहिले दुधका अलावा दैनिक १५ केजी पनीर र ३ केजी नौनी घ्यू उत्पादन गर्दै आएका छन् । पनीर प्रतिकेजी रु. ६ सय ५० र नौनी घ्यू प्रतिकेजी रु. ८ सय मा बिक्री हुँदै आएको छ । लकडाउनका कारण फर्ममा उत्पादित दुध पूरै खपत हुन नसकेपछि चिन्तामा रहेका बेला केही समयसम्म रहन सक्ने परिकार उत्पादन थालेसँगै समस्या समाधान भएको यूवा ब्यावसायी डुम्रेले बताए ।

उत्पादित बस्तुको बिक्री नभई खेर जाने अवस्था आएमा वालिङ नगरपालिकाले खरिद गर्ने बताएसँगै थप उर्जा बढेर आएको उनको भनाइ थियो । “उत्पादित बस्तुहरु त्यसै खेर जान नदिनुहोला, खेरै जाने अवस्था आउन थालेमा नगरपालिकामा खबर गर्नुहोस् हामीले खरिद गरी बिक्री वितरणको ब्यवस्था मिलाउँछौं” पशु शाखा प्रमुख देवकुमारी श्रेष्ठले भनिन् , “अहिले वालिङ नगरभित्रका ब्यावसायी पशुपालकहरु उत्साहित हुनुहुन्छ र उत्पादित बस्तुले राम्रो बजार पाएकाले खेर जाने अवस्था आएको छैन ।” वालिङ नगरपालिकाका १४ वडामा २५ वटा पशुपालन फर्महरु सञ्चालनमा रहेका पशु शाखा प्रमुख श्रेष्ठले बताए ।वालिङ नगरपालिकाले पशुपालक ब्यावसायीहरुको फर्ममै पुगेर उत्पादित बस्तुको बजारीकरण, पशु आहारा, दानापानी ओसारपसारमा आईपरेका समस्याहरुकाबारेमा सहजीकरण गरिएको शाखा प्रमुख श्रेष्ठले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width