नागरिक समाजमा विकृति र विसंगति

सम्पादक
कार्तिक १६, २०७८

पोखरामा गत आइतबार सम्पन्न भएको नागरिक समाजको कार्यक्रममा समाजका अगुवाहरुले नागरिक समाजभित्र राजनीति घुसेको र समाजका पदाधिकारीहरुले राजनीतिमा पनि भाग खोजेर दोहोरो चरित्र देखाएकाले नागरिक आन्दोलन कमजोर भएको बताए । वास्तवमा केही वर्षदेखि नागरिक आन्दोलन कमजोर भएर गएको छ । हिजो सरकारले सानो गल्ती गर्नासाथ नागरिक अगुवाहरु सडकमा आउँथे र आन्दोलन गर्दथे । २०४६/०४७ सालतिर नागरिक समाज र अधिकारकर्मीहरुले राजनीतिक परिवर्तन ल्याउन अर्थात् पञ्चायती व्यवस्था अन्त्य गरी बहुदलीय व्यवस्थाको पुनस्र्थापना गर्नमा महत्वपूर्ण भूमिका खेलेका थिए । त्यस्तै तिनीहरुले २०६२/०६३ सालको दोस्रो जनआन्दोलनमा पनि त्यत्तिकै महत्वपूर्ण भूमिका खेलेका थिए । तिनीहरुले राजनीतिक परवर्तनका लागि त्यस्तो योगदान दिएकाले समाजले पनि तिनीहरुलाई सम्मानको दृष्टिले हेर्ने गरेका छन् ।
तर त्यसपछि नागरिक समाजभित्र राजनीतिकर्मीको प्रवेश भयो । समाजमा राजनीतिकर्मीको प्रवेशपश्चात् तिनीहरुको भूमिका सन्तुलित भएन । तटस्थ बस्नुपर्ने तिनीहरुको झुकाव आफ्नो माउ पार्टीतिर भयो । आफ्नो पार्टीको सरकारले नराम्रो काम गरेको बेलामा पनि तिनीहरुले यो सरकारले नराम्रो काम गर्‍यो भनेर बाहिर आएर विरोध गर्न सकेनन् । धेरैपटक त्यस्तो भएपछि तिनीहरुको चिनारी प्रष्ट रुपमा बाहिर देखिन थालियो र तिनीहरुलाई कुन पार्टीको भनेर सोध्न थालियो । त्यस्तो स्थिति आएपछि तिनीहरुको महत्व पनि बिस्तार घट्दै गयो । हिजो आन्दोलनमा योगदान गरेका नागरिक समाजको अगुवाहरु पन्छिंदै गए ।
नागरिक समाजका ती वरिष्ठ अधिकारकर्मीहरु र मानव अधिकारकर्मीहरु त्यसै पन्छिएर गएका होइनन् । तिनीहरु आफैं पनि हैरान भएका थिए । तिनीहरुले योगदान गरेका आन्दोलनहरुबाट छानिएका, मन पराइएका नेताहरु, मन्त्री, प्रधानमन्त्री भए । तिनीहरुले सरकारमा गएका पदाधिकारीहरुबाट धेरै आशा अपेक्षा गरेका थिए । तर तिनीहरुले नेताहरुबाट त्यो आशा अपेक्षा पूरा हुने देखेनन् । तिनीहरु कराउँदा–कराउँदै आफैं हैरान भए । ती पार्टीका नेताहरुले तिनीहरुविरुद्ध कराउने नागरिक समाजभित्र नै आफ्नो मान्छे पठाएर राजनीति गर्न थाले । तिनीहरुले त्यसो गरेपछि नागरिक समाज नागरिक समाजजस्तो भएन, त्यसको महत्व पनि घट्दै गयो । नागरिक आन्दोलन पनि कमजोर हुँदै गयो । स्वतन्त्र विचार भएकाहरु त्यहाँ टिक्न पनि गाह्रो भयो । त्यस्तो स्थिति भएकाले अहिले त्यही समाजभित्र भएकाहरुले नै समाजमा राजनीति घुसेको, समाज स्वतन्त्र र तटस्थ नभएको तथा निस्पक्ष भूमिका निर्वाह गर्न नसकेको रहस्याद्घाटन गर्नुप¥यो । तिनीहरुको त्यो रहस्योद्घाटनले हाम्रो जनजीवनका अन्य संस्थाहरुमा झैं नागरिक समाजमा पनि विकृति र विसंगति आएको संकेत गरेको छ ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width