पोखरा विश्वविद्यालयको भावी नेतृत्व !

Dr Namraj Dhami
भाद्र ७, २०७७

सम्माननीय कुलपति ज्यू,
पोखरा विश्वविद्यालय,

मेरो नाम नमराज धामी हो । म विगत १५ बर्ष देखि पोखरा विश्वविद्यालय, पोखरामा प्राध्यापन पेशामा संलग्न छु। मैले नेपाल लगायत यूरोप र अस्ट्रेलियाका विश्व प्रशिद्द विश्वविद्यालयहरु बाट उच्च शिक्षा पुरा गरि पोखरा विश्वविद्यालयमै अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा र अनुसन्धानको बिकास गर्नु पर्छ भन्ने अठोटका साथ विदेशको बसाइ, रहर, र अवसरहरु त्यागेर पोखरा विश्वविद्यालय सेवामा आबद्द भइ रहेको छु। मैले हासिल गरेको ज्ञान र शीप नेपाली युवा विद्यार्थीहरुलाई स्वदेशमै हस्तान्तरण गर्न मिल्ने गरी हाम्रो देशको उच्च शिक्षा र अनुसन्धानको क्षेत्रमा समसामयिक बिकास हुनेछ भन्नेमा आशाबादी छु।

आज सम्माननीय प्रधानमन्त्री तथा पोखरा विश्वविद्यालयका कुलपति ज्यूलाइ पोखरा विश्वविद्यालयमा बिगत एक बर्ष भन्दा बढी समय देखि उपकुलपति नभएको हुँदा विश्वविद्यालय अस्तव्यस्त भएको व्योहोरा अवगतार्थ निबेदन गर्दै छु। निबर्तमान उपकुलपतिले गत बर्ष (२०७६) को असार महिनामा बिज्ञान तथा प्रबिधि संकायका तत्कालिन डीन लाइ निमित्त उपकुलपतिको जिम्मा दिएर बिदामा बसे देखि पोखरा विश्वविद्यालयमा नेतृत्व बिहीनताको शृंखला शुरु भएको हो। तत्कालीन उपकुलपति र रजिष्ट्रारको नियमित कार्यकाल गत असोज ६ गते समाप्त भए पश्चात एक(एक गरी बिभिन्न निकाय प्रमुखहरुको कार्यकाल पनि समाप्त भएको हुँदा हाल चार संकाय मध्ये व्यवस्थापन संकायका डीन एक जना र चार स्कूल हरु मध्ये एकजना स्कूल निर्देशक मात्रै पदाधिकारीको रुपमा कायम हुनुहुन्छ।

नीति तथा योजना निर्धारण गरि कार्यान्वयन गराउने नेतृत्वदायी पदाधिकारीहरु नहुँदा कार्यकारी परिषद, प्राज्ञिक परिषद, परिक्षा समिति लगायत विश्व विद्यालयका महत्वपूर्ण अंगहरु निष्क्रिय प्रायः छन्। एक बर्ष भन्दा बढी समय देखि विश्व विद्यालयमा कार्यकारी उपकुलपति र रजिष्ट्रार लगायतका नेतृत्वदायी पदाधिकारीहरु नहुँदा कोरोना संक्रमणको महामारीले गर्दा उत्पन्न परिवर्तित अवस्थामा समेत कुनै नीतिगत निर्णय गर्न नसकी विश्वविद्यालय सित आबद्द ३०,००० भन्दा बढी बिद्यार्थीहरुको पठनपाठन प्रक्रिया नै अन्योलमा छ। साथै विद्यालयका भावी कार्यदिशाहरु नै अलपत्र परेका छन्।

पोखरा विश्वविद्यालय स्थापना भएको २४ बर्ष भइ सकेको छ र अब आउने उपकुलपति तथा रजिष्ट्रार छैटौ कार्यकालका लागि जिम्मेवारी पाउने छन्। बिगतका पाँचवटै कार्यकालका उपकुलपति तथा रजिष्ट्रार त्रिभुवन विश्वविद्यालयमा कार्यरत प्राध्यापकहरु नियुक्त हुनुभएको हो। त्यसमा पनि रजिष्ट्रार त पृथ्वीनारायण क्याम्पस पोखरामा कार्यरत प्राध्यापकहरु मात्रै नियुक्त हुनुभयो। पोखरा विश्वविद्यालयको स्थापनाकालमा नेतृत्वदायी पदाधिकारीहरुले विश्वविद्यालय स्थापनार्थ दिएको महत्वपूर्ण योगदान प्रशंशनीय नै छ र नकार्न सकिन्न। तथापि पछिल्लो समयमा पोखरा विश्वविद्यालयका कार्यकारी पदहरु प्राज्ञिक नेतृत्व दिई विश्वविद्यालयको बिकासमा ध्यान केन्द्रित गर्ने भन्दा पनि निहीत स्वार्थ बोकी राजनैतिक नियुक्ति लिने र विश्वविद्यालयको सुबिधा भोग गर्दै चार बर्ष सुन्दर नगरी पोखरामा पर्यटकीय मनोरंजन लिने सुलभ साधनका रूपमा बढी प्रयोग भएको देखिन्छ। दुखका साथ् भन्नु पर्छ, तुलनात्मक रुपमा कार्य दक्षता र अनुभवको अभावको कारण बिगतका बढी जस्तो उपकुलपति तथा रजिष्ट्रारहरुको नेतृत्वमा पोखरा विश्वविद्यालयको यथोचित र समसामयिक बिकास हुन् सकेन र राजनैतिक भागबण्डा लाइ दोष लगाउदै निजहरुको चार बर्षे नियमित कार्यकाल पुरा भयो र सहज रूपमा पन्छिनु भयो।

पोखरा विश्वविद्यालय तथा हाम्रो देशको उच्च शिक्षा अन्तराष्ट्रिय मापदण्ड अनुसारको बनाउन अत्यावश्यक रहेको र कोरोनाको महामारी पश्चातको परिवर्तित अवस्थालाई समेत मध्यनजर गर्दै उच्च शिक्षा प्रणालीमै ब्यापक सुधार गर्नु अपरिहार्य भइसकेको छ। अत्यन्तै उर्जाशील र मेधावी युवा पिंढीका लागी अन्तर्राष्ट्रिय गुणस्तरको उच्च शिक्षा तथा अनुसन्धानका अवसरहरु देश भित्रै उपलब्ध गराउनु पर्ने दायित्व उच्च प्राथमिकताका साथ् बहन गर्नु पर्ने बाध्यता छ।

अर्कोतिर संसारका विशिष्ट विश्वविद्यालय तथा अनुसन्धानकेन्द्रहरु बाट शिक्षित तथा दीक्षित भइ स्वदेश फर्किने दिनको पर्खाइमा पात्रो हेर्दै बिभिन्न देशहरुमा कुरि बसेका अति विशिष्ट शीप हासिल गरेका नेपाली युवा जनशक्तिलाइ हाम्रा विश्वविद्यालयहरुमा अनुबन्ध गरी अध्यापन तथा अनुसन्धानमा समाबेश गर्न सके राष्ट्र निर्माणमा दूरगामी टेवा पुग्ने अब्बल सम्भावना छ। स्थापना भएको २४ बर्ष भइ सकेको पोखरा विश्वविद्यालयमा सबै तरहले सक्षम र यसै विश्वविद्यालयमा बीसौं बर्षको सेवा अनुभव भएका कुशल नेतृत्व दिन सक्षम राष्ट्रिय र अन्तर्राष्ट्रिय अनुभव भएका दक्ष तथा योग्य प्राज्ञहरु उपलब्ध हुँदा हुँदै अन्य विश्वविद्यालय वा निकायमा कार्यरत व्यक्तिहरु यस विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रारमा नियुक्ती गर्नु निकै अव्यवहारिक र बिगत जस्तै अनुत्पादक हुनजान्छ।

यद्दपी, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विश्वविद्यालयहरु सित प्राज्ञिक तथा अनुसन्धान सहकार्य गर्नु उच्चशिक्षा क्षेत्रको समसामयिक अभ्यास विश्वब्यापी भइ सकेको छ। पोखरा विश्वविद्यालयको अबको कार्यदिशा भनेको यस विश्वविद्यालयलाइ अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षाको प्रमुख केन्द्रका रुपमा द्रुत गतीमा बिकास गर्नु हो। विश्वविद्यालयको नेतृत्व पंक्तिमा फेरी पनि शारीरिक तथा बौद्धिक रूपले आराम आवश्यक पर्ने अवस्थाको तन र निवृत्त जीवनकालीन आनन्द भोग गर्ने अवस्थाको रंगीन सपना बोकेको मन लिई आसीन हुँदा बर्तमान र भावी पुस्ताको स्वदेशमै गुणस्तरीय उच्च शिक्षा हासिल गर्न पाउनुपर्ने हक माथि हिजोको जस्तै कुठाराघात हुन्छ। पोखरा विश्वविद्यालयका भावी उपकुलपति र रजिष्ट्रार लगायतका पदाधिकारीका रूपमा पोखरा विश्वविद्यालयमै दशकौं को सेवा अनुभव भएका दक्ष र योग्य प्राज्ञहरुलाइ विश्वविद्यालयको समय सापेक्ष बिकास गरी उच्च शिक्षाको केन्द्रका रुपमा स्थापित गर्ने एक सुत्रीय जिम्मेवारी र निर्देशनका साथ् कार्यकारी नेतृत्व हस्तान्तरण गर्ने बिषयमा निर्णायक पहलकदमीका लागी पोखरा विश्वविद्यालयमा कार्यरत प्राध्यापकहरुको तर्फबाट सम्माननीय कुलपति ज्यू समक्ष बिनम्र अनुरोध गर्दछु। धन्यबाद !

प्रार्थी,
डा. नमराज धामी
पोखरा विश्वविद्यालय

Related News

सम्बन्धित समाचार

hero news full width