१. पृष्ठभूमि
नेपाली लोकगीतका विभिन्न भेद मध्येको एउटा भेद संस्कार गीत हो । मान्छेका जन्मदेखि मृत्युसम्म विभिन्न प्रकारका संस्कारहरु गरिन्छन् । ती संस्कार गर्दा पनि नाना प्रकारका लोकगीतहरु गाइन्छन् । ती संस्कारमध्येको एउटा संस्कार विवाह संस्कार हो । विवाह संस्कारमा पनि विभिन्न प्रकारका गीतहरु गाइन्छन् । विवाह संस्कारमा गाइने त्यस्ता गीतहरुमध्यको एउटा गीत रत्यौली गीत हो । अहिले नेपाली समाजमा रत्यौली गीत गाउने चलन व्यापक भएको छ । यस लेखले त्यही रत्यौली गीत केहो ? रत्यौली गीतको गायनक्रम कस्तो हुन्छ ? अनि रत्यौली गीतको वर्तमान अवस्था कस्तो छ? भन्ने प्रश्नहरुको उत्तर खोजी गरेको छ ।
२. रत्यौली गीत
दुलाहाका घरमा विवाहका अवसरमा बालिएको शुभसूचक बत्ती कुर्न भनी जम्मा भएका महिलाहरूले गाउने सामूहिक गीत रत्यौली गीत हो ।यो गीत गाउँदा हा, बाँदुरै, पाउँदुरै, अरे भैया, होइ, ओहोइ, हे, हो लगायतका थेगाको प्रयोग हुन्छ ।कुनै रत्यौली गीत फोहोरी खालका हुन्छन् भने कुनै रत्यौली गीत शुद्ध हुन्छन् । फोहोरी खालको रत्यौली गीतलाई अश्लील रत्यौली गीत र शुद्ध रत्यौली गीतलाई श्लील रत्यौली गीत भनिन्छ । यसरी रत्यौली गीत श्लील र अश्लील गरी दुई प्रकारका देखापरेका छन् । जस्ता प्रकारका भए पनि यसलाई रत्यौली गीत किन भनिएको हो ? भनेर सोधँदा पाइएका उत्तर दुईओटा छन् । जस्तै : (१) रातमा गाइने भएकाले रत्यौली गीत भनिएको हो, (२)रतिक्रीडाका भाव प्रस्तुत गर्दै गाइने भएकाले रत्यौली गीत भनिएको हो । यी दुईमध्ये पनि “रातमा गाइने भएकाले रत्यौली गीत भनिएको हो” भन्ने तर्क बढी अर्थपूर्ण देखिएको छ । रातमा गाइने यो रत्यौली जुनसुकै ठाउँमा गाइँदैन । यो गीत गाउने मुख्य स्थल विवाहमा ग्रहशान्ति, मातृकापूजा गरेका स्थलको आसपासको ठाउँ हो । त्यस्तो पवित्र स्थलमा बसेर महिलाले मात्र रत्यौली गीत गाउँछन् । यो गीत गाउँदा बाजाका रुपमा ताली बजाउने चलन छ ।
रत्यौली गीत गायन र प्रदर्शनमा महिलाको मात्र सहभागिता हुन्छ । एकथरी महिलाहरुले बसेर ताली बजाउँदै रत्यौली गाउँछन् । त्यही रत्यौली गीतलाई नृत्य र अभिनयले विशेष रोचक तुल्याउने हुँदा यो गीत गाउँदा एउटी महिला नर्तकीका रुपमा प्रस्तुत हुन्छिन् भने अर्की महिलाले पुरुषको भेषमा सजिएर पुरुषको नृत्य र अभिनय गर्छिन् । त्यही पुरुषको भेषमा नाच्ने र अभिनय गर्ने व्यक्तिलाई लुठो, जोगी वा जोगियाभन्ने चलन छ। रत्यौली गीत आफै रोचक हुन्छ भने नर्तकहरुको नृत्य र अभिनयले रत्यौली गायनस्थललाई निकै रमाइलो बनाएका हुन्छन् ।
विवाहका निम्ति प्रस्थान गर्नुपूर्व दुलाहाले आप्mनो घरमा ग्रहशान्ति गर्ने चलन छ । जन्ती जानुपूर्व हो त्यही ग्रहशान्ति गर्दा बालेको दियो (बत्ती) दुलही नभित्र्याएसम्म निभ्न दिन हुँदैन । त्यो बत्ती कुर्न रातभरि एक्लै बस्न गाह्रो हुने भएकाले छिमिकी तथा इष्टमित्र महिलाहरुले सामूहिक रुपमा त्यो बत्ती कुर्छन् । त्यहाँ महिलाहरु गायन, नर्तन र अभिनय कार्यमा पूर्ण स्वतन्त्र हुन्छन् । बत्ती कुर्दा निद नलागोस् भनेर श्लील रत्यौली गीत र अश्लील रत्यौली गाउँछन् । त्यहाँ पुरुषहरुको सहभागिता हुँदैन ।
नेपाली समाजमा रत्यौली गीतबारे रोचक खालका लोकविश्वास विद्यमान छन् । जस्तै : (१) पुरुषले रत्यौली हेर्ने वा सुन्ने काम गरेमा त्यस व्यक्तिको आयु घट्छ । (२) रत्यौली गाउने र नाच्ने गरेमा नयाँ दम्पतिको आयु बढ्छ (३) जन्ती जानुपूर्व ग्रहशान्ति गर्दा बालेको दियो(बत्ती) दुलही नभित्य्राएसम्म मर्न दिन हुँदैन, मर्यो भने नवदम्पतिको जीवनमा अपशकुन पर्दछ । यही लोकविश्वासका साथ रातभरि रत्यौली गाउने र नाच्ने प्रचलन अहिले पनि नेपाली समाजमा देख्न पाइन्छ ।
३.रत्यौली गायनक्रम
रत्यौली गीत विवाह पद्धतिअनुसार निश्चित क्रममा गाइन्छ । जन्ती हिँड्नुपूर्व दुलाहाका घरमा गरिने कर्मदेखि जन्ती प्रस्थान गरेको र दुलहीका घरमा गरिने कर्मदेखि पुनः दुलाहाका घरभित्रिँदासम्मका अवस्थाको विषयलाई समेटेर रत्यौली गीत गाउने गरिन्छ । यसरी गाइने रत्यौली गीतको गायनक्रमलाई तीनओटा भागमा छुट्ट्याउन उपयुक्त हुन्छ ।
३.१ आरम्भ भाग
रत्यौली गीतको आरम्भ भागमा दुलाहा सिँगार्ने कार्यदेखि दुलाहा अन्माउने बेलासम्मका विभिन्न घटनाहरुको वर्णन गरिन्छ । आरम्भ भागमा श्लील खालका रत्यौली गाइन्छन् । आरम्भ भागका रत्यौलीमा शान्त भाव र करुण भावको प्रधानता हुन्छ । जानकारीका निम्ति रत्यौली गीतका केही उदाहरणहरु यहाँ प्रस्तुत गरिएको छ :
आमा लाइदिनुस् टीका
शुभ साइतको बेलामा
जीवन साथी लिनलाई गए
कैल्यै पनि बिरानो नभए ।
यसरी दुलाहा सिँगानेर्देखि अन्माउने बेलासम्मका गतिविधिको वर्णन भएको रत्यौली गीत नै रत्यौली गीतको आरम्भ भाग हो ।
३.२ मध्य भाग
रत्यौली गीतको मध्य भागमा दुलाहा दुलही लिन गएदेखि विवाह गरेर र दुलही आप्mनो घरमा भित्र्याउँदासम्मको वर्णन गरिन्छ । यस्तै दुलहीका घरमा पुगेपछि विवाह पद्धति अनुसार गरिएका विवाह कर्म अनुसारका गतिविधिको चित्रण गरिन्छ । दुलही अन्माएर बिदाबादी गरिएको अवस्था, दुलही लिएर दुलाहाका घरतिर आउँदै गरेको, दुलही भित्र्याएको, दुलहीले सासुससुरालाई गरेको व्यवहार, दुलहीले सासुलाई गरेको व्यवहार, छोरा र बुहारीको व्यवहार, बुहारीले सासुसित गरेको व्यवहार, सासुको बिलौना, सासुले बेहोर्नु परेको अपमान, दुलाहादुलहीको स्वच्छन्द व्यवहारको वर्णन मध्य भागमा हुन्छ । यही मध्य भागमा श्लील रत्यौली र अश्लील रत्यौली गीत गाउँछन् । यस क्रममा कतै करुणभावयुक्त रत्यौली, कतै शान्त भावयुक्त रत्यौली, कतै हास्य भावयुक्त रत्यौली गाउछन् । जानकारीका निम्ति केही चरन यहाँ प्रस्तुत गरिएको छ :
स्वयम्बरको आइपुग्यो बेला
फूलमाला साटासाट यो बेला
सिँदुर हाल्ने भैगयो बेला
माइती नजिक नबसे यै बेला
गएँ आमा डोलीमा चढेर
नरौ आमा पिँडीमा बसेर ।
बस बस झ्यालढोका उघारी
पाथी भर्छन् सासु र बुहारी ।
उठ मयाँ उज्यालो भयो
भाले बास्यो डाँडैमा घाम लायो ।
यसरी दुलाहा अन्माउने बेलादेखि दुलही भित्र्याउने बेलासम्मका गतिविधिको वर्णन भएको रत्यौली गीत नै रत्यौली गीतको मध्य भाग हो ।
३.३ अन्त्य भाग
रत्यौली गीतको अन्त्य भागमा मंगलकामनाका भाव भएका रत्यौली गीत गाइन्छन् । त्यस क्रममा नवदम्पतिको जीवन सुखमय बनोस् । सन्तानको सुवास फैलियोस् । देवीदेवताले रक्षा गरुन् । रत्यौली गीतका गायिकाहरुले रत्यौली गीतको अन्त्य भागमा यस्ता आसिकयुक्त रत्यौली गीत गाउँछन् । त्यसैले अन्त्य भागमा गाइएका रत्यौली गीतमा मुख्यतः शान्ति भावको प्रबलता हुन्छ । जानकारीका निम्ति अन्त्य भागमा गाइने रत्यौली गीतका एउटा चरन यहाँ प्रस्तुत गरिएको छ :
घर उज्यालो बलेको बत्तीले
आसिक दिनुस् याँ भाँका जत्तिले ।
यसरी रत्यौली गीतको अन्त्य भागमा आसिक भावयुक्त रत्यौली गाउने चलन छ । उज्यालो हुन थालेपछि यस्ता आसिकयुक्त रत्यौली गीत गाई मनोरञ्जन गरिन्छ ।
४. वर्तमान अवस्था
आजसम्म आइपुग्दा रत्यौली गीतमा धेरै ठूलो परिवर्तन आएको छ । रातिमा गाइने भएकाले रत्यौली नामकरण भएको रत्यौली गीत अहिले दिन्यौलीमा परिणत भए जस्तो अनुभव भएको छ । पुरुषले हेरे आयु घट्छ भनेर महिला मात्र सहभागी हुने रत्यौली गीतको गायनमा अहिले पुरुषहरु पनि सहभागी हुने गरेका छन् । विवाह पद्धति अनुसार निश्चित क्रममा गाइने रत्यौली गीतहरु नगाई चलनचल्तीका झ्याउरे गीत गाउने गरेको देखिएको छ । आधुनिक बन्ने नाममा रत्यौली खेलेको भन्दै हिन्दी र अंगे्रजी गीत गाउने गरेको पनि अक्कलझुक्कल देखिएको छ । कतिपय ठाउँमा रत्यौली प्रतियोगिता भएका छन् । ती प्रतियोगिताले रत्यौलीलाई लोकप्रिय बनाए पनि आदर्शलाई पूर्ण वरण गर्न सकेका छैनन् । पहिले पहिले रत्यौली गाउँदा बाजाका रुपमा ताली मात्र बजाउने चलन थियो भने अहिले मादल, मजुरा, मुरलीलगायतका बाजा बजाउने गर्न थालिएको छ । वर्तमान सञ्चारका माध्यमबाट प्रदर्शन गरिएका लोकगीत र नृत्यको प्रभाव ग्रहण गर्दै त्यस्तै खालका पोशाकमा सजिएर त्यस्तै खालका लोकगीत गाई रत्यौली गाएको भनिएको छ । पहिला पहिलाको अश्लील रत्यौली हटेर अहिले श्लील खालका रत्यौली गीतले स्थान ओगटेका छन् । अहिले कतिपय ठाउँमा आमा समूहले रत्यौली गीत गाएर अथोर्पार्जन गरी त्यो सामाजिक कार्यमा लगाएका छन् ।
यसरी हेर्दै जाँदा वर्तमान समयमा रत्यौली गीत पहिचान विहीन ढंगले अगाडि बढिरहेको देखिएको छ । रत्यौली गीतको पहिचान गुम्न नदिनका निम्ति माथि चर्चा गरिएका तथ्यमा धेरै कुरामा केन्द्रित भएर रत्यौली गायन परिपाटीलाई व्यवस्थित तुल्याउन आवश्यक देखिएको छ ।
Related News
सम्बन्धित समाचार
गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानका ४ वर्ष र आगामी कार्यदिशा
राणा कालमै हलो जोत्ने क्रान्तिकारी पं. मुक्तिनाथ
पाब्लो नेरुदा : जनकवि तथा क्रान्तिकारी नेता
धार्मिक आस्था र आचरण
साँढे स्वास्नी (हास्यव्यंग्य निबन्ध)
hero news full width
मुख्य समाचार
असुरक्षित टहरामा बस्न वाध्य सुरक्षाकर्मी
गण्डकी सरकारले २०८१ मा ३ दिन बिदा दिने
चैत्र १५, २०८०किरिया बसेका दाजुभाइ परीक्षामा
चैत्र १५, २०८०सुरु भयो एसइई, ५ लाख ४ हजार ४ सय १४ विद्यार्थी सामेल
चैत्र १५, २०८०बजेट अभावमा नगर अस्पतालको काम रोकियो
चैत्र १५, २०८०एमाले कास्कीमा को-को निर्वाचित ? (अन्तिम मतपरिणामसहित)
चैत्र १४, २०८०