बोक्सी कुप्रथा अन्त्यमा हाम्रो प्रयास

भुवनेश्वर शर्मा पौडेल
फागुन ३, २०७५

आदर्श समाज राष्ट्रिय दैनिकमा यही २०७५ पौष १६ गते सोमवारको अंकमा सुरेन्द्र थापा मगरको “बोक्सी कथा र कानून” भन्ने लेख पढदा साह्रै खुशी लाग्यो। नेपालमा पुस्तौदेखि हालसम्म बोक्सी हुन्छ भन्ने अन्ध विश्वास रही रहेको र अझै पनि बोक्सीको आरोपमा निर्दोष व्यक्तिहरूलाई विभिन्न यातना दिँदै गरिएको र आफूले पनि बाल्यकालदेखि यस्ता कुरा सुन्दै आए पनि विश्वास नगरेको कथामा उल्लेख छ।

वास्तवमा बोक्सी हुँदै हुन्न र यो केवल माता, धामी, झाँक्री तथा अल्पज्ञानी ज्योतीषीहरूले विरामीहरूको दिमागमा भ्रम सिर्जना गर्ने गरिएको र त्यसैमा विश्वास गनेर्हरूको शंकामात्र हो भन्नुको साथै नेपाल सरकारले बोक्सी आरोप सम्बन्धी कसुर तथा सजायका सम्बन्धमा बनेको ऐन २०७२ बारे पनि उल्लेख गरिएको एउटा चेतनामुखी लेख लेख्नु भएकोमा लेखकलाई धन्यवाद दिन चाहान्छु र यस्तै शिक्षामूलक लेख बारम्बार आइ रहुन भन्ने अपेक्षा गर्दछु।

सुरेन्द्रजीले जस्तै मैले पनि बाल्यकालमा हाम्रो टोल छिमेकमा बोक्सी हुन्छ भनेर फु–फागर्ने चलन प्रशस्त थियो र कता कति अझै पनि छ। वच्चा बिमारी भएमा, भैंसी या गाईले समयमा दूध नदिएमा या घाँस नखाएमा बोक्सीकै कारण भनिन्थ्यो। अस्पताललाई भन्दा धामी, माता र झाँक्री मै विश्वास गरिन्थ्यो। यो चलन शहरबजारतिर धेरै कम भएको पाइए पनि अशिक्षित गाउँ घरमा अझै व्यापक छ। निर्दोष व्यक्तिलाई अनाहकमा कुट्ने, पिट्ने, मलमूत्र खूवाउने, सिस्नोपानी लगाउने, तातो पनियाले डाम्ने, गाउँ निकाला गर्ने मात्र नभइ हत्या समेत गरिएका घटनाहरू हामीहरूले विभिन्न सञ्चार माध्यमहरूबाट थाहा पाइरहेका छौं। नेपाल सरकारले यस सम्बन्धी ऐन २०७२ सालमा बनाएको भएता पनि त्यसबाट सर्वसाधारण अझै पनि अनभिज्ञनै छन।

यस्तै कुराहरूलाई मध्यनजर राखी, वास्तवमा बोक्सी हुँदै हुन्न र बोक्सीको आरोपमा निर्दोष व्यक्तिहरूलाई कुनै पनि यातना दिन पाइन्न भन्ने सोच लिइ गण्डकी प्रदेश कास्की जिल्ला पोखरा महानगरपालिका वडा नंं २५ हेमजामा हाम्रै पहलमा “मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठान नेपाल” नामक विशुद्ध परोपकारी सामाजिक संस्था २०७१ सालमा स्थापना गरिएको छ। नेपालमा पुखौर्देखि हालसम्म जरागाडेर रहेको यो कु–प्रथाको अन्त्य गरी आगामी १५ वर्ष भित्र नेपाललाई बोक्सी कुप्रथा मुक्त देश घोषणा गरेरै छाड्ने राष्ट्रिय अभियान लिई यो संस्था अगाडि बढेको छ। यसले हालसम्म ७ ओटै प्रदेशका विभिन्न १७ जिल्लाका कुल ४५ ठाउँमा पुगी जनस्तरमा चेतना फैलाउने काम गरिसकेको छ र ७७ ओटै जिल्लाका प्रत्येक स्थानीय तहमा पुग्ने उद्देश्य लिएको छ।

यसै क्रममा २०७४ फागुनको अन्त्यमा बोक्सी आरोपमा यातना पाएकी कैलाली जिल्ला घोडाघोडी नगरपालिकाकी १९ वर्षिया राधा चौधरी, २०७५ जेष्ठ २३ मा यस्तै यातना पाएकी सुनसरी जिल्ला हरिनगरा गाउँपालिकाकी बविता महतो, २०७५ भाद्र १७ गते सल्यान जिल्ला कपुरकोट गाउँपालिकाकी ६९ बर्षिया खोपी राउतलाई बोक्सी आरोपमा आफ्नै बुहारी टंकी राउतले जंगलमा लगी निर्मम हत्या गरेकी थिइ। यी प्रत्येक ठाउँमा यो संस्था पुगी माइकीङ मार्फत जनसमूह भेला गराई बोक्सी कुप्रथा विरुद्धका गीतहरू तथा चेतनामूलक सामाजिक चलचित्र अग्निदहन प्रर्दशन गरिएको थियो। बोक्सी ऐन २०७२ निःशुल्क वितरण गर्नुको साथै विभिन्न सचेतनामूलक कार्यक्रमहरू भएका थिए। यस्तै २०७३ पौष ४ गते काभ्रेपलाञ्चोक जिल्लामा बोक्सी आरोपमा हत्या गरिएकी लक्ष्मी परियारका टुहुरा केटाकेटीहरूलाई राहत वितरण गरिएको थियो। यी प्रत्येक कार्यक्रमपछि सहभागी दर्शकहरूले वास्तवमा बोक्सी हुँदो रहेनछ भन्ने प्रतिक्रिया दिएका थिए। दर्शकहरूका ती प्रतिक्रियाहरू र सामाजिक गीतहरू हेर्न सुन्न चाहनु हुने व्यक्तिहरूले फेसबुकडटकम मन्छेबोक्सी हुन्न  या कोविद शरयन उपाधायाया पयदष्म कजबचबथबल गउबमजबथबथब हानी मोवायलमा नै हेर्न सक्नुहुनेछ।

यस संस्थाले बनाएको बोक्सी कुप्रथा विरुद्धको चेतनामूलक सामाजिक चलचित्र राष्ट्रपति विद्यादेवी भण्डारी ज्यूले ०७५–०५–१६ मा राष्ट्रपति भवनमा नै उद्घाटन सहित अवलोकन गर्नुभएको थियो। यसलाई चलचित्र विकास वोर्डले विशेष चलचित्र अवार्ड २०७४ बाट सम्मानित पनि गरेको छ। सत्य घटनाहरूमा आधारित यो चलचित्र २ घण्टा ५२ मिनेटको छ।

यस्तै निर्दोष व्यक्तिहरूलाई बोक्सीको आरोपमा यातना दिएका घटनाहरू, गोर्खा, धादिङ, महोत्तरी र वैतडी जिल्लाहरूबाट पनि प्राप्त भएका छन् तापनि समय अभाव र आर्थिक संकटका कारण ती ठाउँहरूमा पुग्न प्रतिष्ठान सकिरहेको छैन। यिनीहरू केवल प्रतिनिधि घटना मात्र हुन्न। प्रचारमा नआएका यस्ता घटना गाउँ ठाउँमा नै मिलापत्र गरी या नगरी गुपचुप राखिएको सयौं घटनाहरू छन।

बोक्सी ऐन अनुसार पिडकहरूलाई कसुर हेरी रु पाँच हजार देखि एक लाखसम्म जरिवना र ६ महिनादेखि १५ वर्षसम्म कैद सजाय उल्लेख छ। पीडकलाई सहयोग गर्ने व्यक्तिलाई समेत सजायको व्यवस्था छ। सार्वजनिक पदमा बहालवाला कुनै व्यक्तिले बोक्सी आरोप सम्बन्धी कसुर गरेमा अरुको भन्दा २५% थप सजाय हुन्छ। बोक्सी आरोपमा कसैको घाउचोट या अंगभंग भएमा सम्पूर्ण उपचार खर्च पीडकले तिर्नुपर्ने हुन्छ। धन सम्पति हानी नोक्सानी भएमा क्षतिपूर्ति तिर्नुपर्ने हुन्छ। फलानो व्यक्ति बोक्सी हो भनी किटान गर्ने धामी झाँक्री, माता, ज्योतिषीहरूले पनि सजाय पाउने व्यवस्था रहेको छ।

यसैले तपाइँहरूका छरछिमेकमा बोक्सी आरोपमा कसैलाई यातना दिइएको छ भने नजिकको प्रहरी चौकी या स्थानीय निकाय या यो संस्थालाई जानकारी गराइदिनुहुन विनम्र अनुरोध छ। सूचना दिने व्यक्तिको नाम ठेगाना गोप्य राखिनेछ। नेपालमा बसी आफ्नो पेशा सञ्चालन गरिरहनु भएका माता, धामी, झाँक्री र ज्योतिषीहरूसँग विनम्र अनुरोध गरिन्छ कि तपाइँहरूले आफूले जानेका कुराहरू र सुझावहरू आफ्ना सेवाग्राहीलाई ढुक्कसँग बताउनुहोस तर बोक्सी हुन्छ, बोक्सीले गर्दा तपाई या तपाईका बच्चा बिमारी भएको, भैंसी र गाईले दूध नदिएको इत्यादि कुरा पटक्कै नभनिदिनुहोला।

पूर्व, पश्चिम, उत्तर या दक्षिण तिरकी र फलानीले गर्दा जस्ता कुरा कहिल्यै नगरिदिनुहोला। यस्तो कु संस्कार र अन्धविश्वासको छाप अशिक्षित र सोझा मानिसमा नपारिदिनुहोला। जस्ले गर्दा निर्दोष र निमुखा मानिसहरूले अनाहकमा यातना पाउने मात्र नभइ ज्यानै गुमाउन सक्छन्। वरु के रोग लागेको हो तुरुन्त राम्रो डाक्टरको परामर्श लिन सुझाव दिनुहोला। त्यस्तै ७७ जिल्लाका सात सय ५३ ओटै स्थानीय निकायमा रहनु भएका समाजसेवी जनप्रतिनिधिहरू पनि आफ्नो स्थानीय निकायहरूमा यो कार्यक्रम लैजान चाहनुहुन्छ भने संस्थामा सम्पर्क गरी बोलाउन सक्नुहुनेछ। अनुकूल समय मिलाई तपाइँको ठाउँमा यो संस्था छिटै आउने छ।

(लेखक, मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठान नेपालका संरक्षक हुन्।सं.)

Related News

सम्बन्धित समाचार

hero news full width