राहतमा तत्परताको खाँचो

सम्पादक
असार १९, २०७५

१. नेपालमा मनसुन शुरु भएको तीन हप्ता बितेको छ। तैपनि केही दिन पहिलेसम्म त्यत्ति धेरै वर्षा भएको थिएन। तर अब वर्षा राम्ररी भएको र वर्षाको साथै पहिरो जान पनि थालेको छ। पहिरोले एक दर्जन भन्दा बढी मानिसको ज्यान गएको जनाइएको छ भने कति परिवार घरवार विहीन भएर रहेका छन्।

२. वर्षा हुनु, वर्षाका कारण पहिरो जानु, नदीनालामा बाढी आउनु र ती सबैका कारण जनधनको क्षति हुनु हाम्रो लागि नियति नै भएको छ। यस्तो सधैं हुने गरेको छ। पहिरोको रोकथामको लागि केही गर्न सकिन्छ कि भनी कुनै पनि सरकारले गम्भीर भएर सोचेका छैनन्।

३. पहिरो गएपछि त्यसबाट पीडितहरुलाई सामान्य राहत वितरण गर्नु सरकारको काम भएको छ। त्यत्ति गर्दैमा सरकारले आफ्नो काम पूरा भएको सम्झने गर्दछ। यस वर्ष सरकारले आफ्नो काम कुरामा केही परिवर्तन गर्दछ कि भनी आशा अपेक्षा थियो, तर पनि त्यस्तो परिवर्तनको लक्षण यसले पनि केही देखाएन।

४. देशका कतिपय भागहरु खास गरेर डाँडाकाँडाका जमीन चिरा परेका छन्। वस्तीमा बस्नै नहुने भएको रिपोर्ट पनि आइरहेको अवस्था छ। तैपनि सरकारले उनीहरुलाई पुनर्वासको व्यवस्था गर्ने काममा कुनै तत्परता देखाएको पाइएको छैन।

५. एकातिरको स्थिति त्यस्तो छ भने अकोर्तिर भूकम्प पीडितहरुको अवस्था त्यस्तै नाजुक छ। उनीहरु अझ पनि पाल र कर्कट पाताको अस्थायी झुपडीमा बसेर वर्षाको पीडा र हिउँदको ठण्डा सहन बाध्य छन्। प्रधानमन्त्री के.पी. ओली सुखी समृद्ध नेपालको कुरा गर्दछन्। तर भूकम्प पीडितको पीडा महसुस गरेको देखिएको छैन।

६. काम गर्ने नै हो भने विगतमा भन्दा अहिले सजिलो छ। अहिले स्थानीय सरकार छ, प्रदेश सरकार छ। स्थानीय सरकार र प्रदेश सरकारले चाहे भने बाढी गएको ठाउँमा र बाढी पीडितहरुकोमा छिटो पुग्न सक्छन् र छिटो उद्धार गर्न सक्छन्। तर यो परिवर्तनको अनुभव पीडित परिवारले गर्न पाएका छैनन्।

७. संघीय संरचनाका उपलब्धि सम्बन्धमा राजनीतिक भाषण धेरै भएका छन्। संघीय संरचना भएपछि सवसाधारणले जुन छिटो छरितो सेवा पाउनु पर्दछ भन्ने मान्यता थियो, त्यस दिशातिर ठोस काम कुरा केही भएका छैनन्। नेताहरुको दिनचर्या ठूल्ठूला भाषण गर्नमा बितेको छ। तर यस्तो राहत र सहायता दिनुपर्ने ठाउँमा उनीहरुको ध्यान गएको छैन। त्यसैले विगतका बाढी पीडितहरुले जे जस्तो नियति भोगेका थिए, अहिलेकाले पनि त्यस्तै भोग्दैछन्। संघीयताको परिवर्तन, चरीलाई हर्ष न विस्मात् भने झैं भएको छ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width