Worldlink ads

शिक्षा क्षेत्रमा कहिले नविसर्ने कार्य गर्नेहरू

आदर्श समाज सम्वाददाता
जेठ ७, २०७१

अङ्ग्रेजी भाषाका ज्ञाता, कट्टर स्वभावीर विचाका धनी चन्द्र शमशेर जबराले पनि आफ्नो शासनकालमा केही सुधार नगरेका होइनन्। उनका प्रमुख सुधारमध्ये शैक्षिक सुधार पनि एक हो। तर विडम्बना के पनि छ भने देव शमशेरका पालामा खुलेका धेरै शिक्षण संस्था कन्द गराइएको इतिहास साक्षी छ। अङ्ग्रेजका परम भक्तचन्द्र शमशेरले उनीहरूको सल्लाह र दबाबअनुसार नेपालमा ६० वटा प्राथमिक विद्यालयहरू, काठमाडौ उपत्यकामा अङ्ग्रेजी शिक्षाका लागि एक मात्र माध्यमिक विद्यालय सञ्चालन गर्न स्वीकृति दिएको पाइन्छ। त्यसपछि कला र विज्ञान अध्ययनको निमित्त त्रिचन्द्र कलेजको स्थापना गरी उच्च शिक्षाको थालनी गराउने पहिलो व्यक्ति श्री ३ महाराजको नाममा चन्द्र शमशेर मानिन्छन्। त्यस वखत उच्च शिक्षा आफ्ना वंशको सदस्यहरूलाई मात्र खुला गरिएको थियो। सर्वसाधारण नेपालीहरूले टुलुटुलु हेर्न बाहेक मुख खोलेर विरोध गर्न सक्दैनथे। आफ्ना छोराछोरीलाई अङ्ग्रेजी शिक्षा पढाउन इच्छा हुँदाहुँदै पनि सर्वसाधारण लाचार थिए। भारतमा अङ्ग्रेजहरूले कलरिकल  शिक्षा अर्थात कारिन्दा तयार गर्ने शिक्षाको लागि विद्यालयहरू खोलेका थिए। त्यही तरिकालाई चन्द्रशमशेरले पनि नेपालमा भित्र्याएका थिए। आज पनि अङ्ग्रेजहरूको उक्त कारिन्दाको लागि दिइने शिक्षा नेपालमा सञ्चालन भइरहेको छ।

आज हामीले सम्झना गनैपर्ने व्यक्ति हुन् श्री ३ महाराज पद्म शमशेर जसले देव शमशेर र चन्द्र शमशेरका पालामा खोलिएका शिक्षण प्रतिष्ठानहरूको व्यवस्थापनका कमीकमजोरीलाई महसुस गरी पद्म शमशेरले पद्मोदय हाईस्कुल, पद्म कन्या क्याम्पस तथा अन्य विद्यालयहरू खोलेर सञ्चालनमा सुधार गर्न लगाए। शिक्षकहरूलाई तालिमका लागि विदेश पठाउने कार्य गरेकाले पद्म शमशेर गुणात्मक शिक्षाको समर्थक थिए।

सन् १८४६ को कोतपर्वपछि सुरु भएको जहानीयाँ शासन २००७को सफल क्रान्तिपछि बहुदलीय व्यवस्थाको प्रादुर्भाव भयो। त्यो भन्दा पहिले कास्कीको तल्लाकोटको गुरुकुलमा नदीपुर, पोखरा निवासी व्याकरणका ज्ञाता वेदान्ती स्व. आत्मराम पराजुलीले अध्यापन गराउनुहुन्थ्यो। नदीपुर पोखरास्थित नारायणथान आश्राममा पनि संस्कृत भाषाको मात्र पठनपाठन हुन्थ्यो। जहाँ बालकृष्ण ब्रह्मचारी, प्रेम चैतन्य ब्रह्मचारी र चुडामणि नापित संलग्न हुनुहुन्थ्यो। विन्ध्यवासिनी संस्कृत पाठशालामा स्व. सोमनाथ रेग्मीले हितोपदेश अम्मरकोष, कौमदिर रघु वंश पढाउनुहुन्थ्यो। त्यस बेला विन्ध्यवासिनीका चौतारामा टीकाराम रेग्मी र स्व. टेकनाथ रेग्मीले ब्राह्मण पुत्रहरूलाई मात्र नभइ अन्य समुदायका केटाकेटीहरूलाई निशुल्क शिक्षा दान गर्नुहुन्थ्यो।

नारायणथान पोखरा आश्रममा संस्कृत शिक्षा प्रदान गरिरहनु भएका वेदान्ती, अङ्ग्रेजी भाषाका पूर्ण ज्ञाता एवं धुरन्धर राजनीतिज्ञ नेपाली मूलका भारत अलमोडा निवारी प्रेम चैतन्य ब्रहमचारीले ७० वर्ष पूर्व सराङकोट -६ मा चिसाखोला ब्रह्माचार्य आश्रम स्थापना गरी ब्राह्मणका छोराहरूलाई संस्कृत भाषामा कर्मकाण्डको विधि सिकाउनुहुन्थ्यो भने क्षेत्रीय कुमारहरूलाई अङ्ग्रेजी शिक्षा दिएर साक्षरता अभियान चलाउनुभएको थियो। सायद कास्की जिल्लामा अङ्ग्रेजी भाषा पढाउने पहिलो पाठशाला चिसाखोला आश्रम हुनुपर्छ।

चिसाखोला आश्रम सुचारु गर्न २००६ सालमा स्व.काशीनाथ कोइरला, स्व. भोलानाथ कोइरला, स्व. उमानाथ कोइरला, बुद्धिबहादुर फौदार, स्व. भैरवबहादुर फौदार, विष्णुबहादुर फौदार समेतबाट घैयाबारी भन्ने जग्गा आश्रमलाई प्रदान गरेका थिए।

कास्की जिल्लामा शिक्षा क्षेत्रको इतिहास लामो छैन। वि.सं. २००६ सालमा नारायण स्थान पोखरामा पब्लिक स्कुल खोलिएको थियो। वि.सं. २०१३ सालमा विदेशबाट शिक्षाशिक्षिका झिकाएर माध्यमिक तहसम्मको पठनपाठन प्राम्भ भएको थियो।

२००७ सालको राणाविरोधी सफल आन्दोलनपछिका दिन देखि आजसम्म शिक्षा क्षेत्रमा सरकार तथा अभिभावक लागि पर्नुभएको छ। कास्की जिल्लामा शैक्षिक उत्थान गर्न स्व. दयाशंकर पालिखे, स्व. अमृतप्रसाद शेरचन, पं. ऋषिकेशव पराजुली, प्रेमराज मुल्मी, शिवबहादुर थापा (तत्कालीन अञ्चलाधीश) स्व. सुन्दरप्रसाद मसारी, मुक्तिनाथ आचार्य आदि शिक्षाप्रेमी व्यक्तिहरू सदा सम्झनाका पात्र बनेका छन्। त्यस्तै गरी शिक्षासेवी दानवीर तथा समाजसेवी स्व. सोमनाथ बराल चर्चाको शिखरमा हुनुहुन्छ। उहाँले प्रत्येक क्षेत्रमा सहयोग पुर्‍याउनुभएको यथार्थ हो। सहयोग गर्नु भनेको उहाँको लागि सामान्य मानिन्थ्यो।

श्रीमद् भागवत् महापुराणमा उल्लेख गरिएका सनकादि ऋषिहरूका कान्छा भाइ सनतकुमारको नामसारी पोखरा-८ जाल्पारोड निवासी टुहुरा सनतकुमार श्रेष्ठले लेखनाथ-८ मोहरिया टोल स्थित सामुदायिक विद्यालय नवज्योति निमावि जीर्ण भवनको सट्टा निजले व्यक्तिगत तर्फबाट पूरा एक करोड पचास लाख खर्चेर १२ कोठे भूकम्प प्रतिरोधात्मक तवरले निर्माण गरिदिनुभएको छ। यस्ता गौरवशाली, शिक्षाप्रेमी तथा दानवीर व्यक्तित्वहरूलाई राष्ट्रले बेलावखत सम्मान दिनु भनेको जनताप्रतिको मोह हो। यस्ता कार्य गर्ने व्यक्तित्वहरू राष्ट्रकै निधि हुन्। राष्ट्र प्रमुख र सरकार प्रमुखभन्दा कम इज्जतवाला होइनन्। यिनै शिक्षाप्रेमी तथा समाजसेवीको सहयोग र सद्भावले नै राष्ट्र प्रमुख तथा सरकार प्रमुख बन्न सक्ने हैसियतको सृजना हुन्छ।

(लेखक सराङकोट गाविसका निवर्तमान अध्यक्ष हुन्।सं.)

Related News

सम्बन्धित समाचार

  • स्थानीय तहको निर्वाचन : भालुको कनपट

    आदर्श समाज सम्वाददाता माघ १०, २०७८
    स्थानीय तहको निर्वाचन सार्नेमात्रै होइन टार्ने कुत्सित दाउ गरिँदै छ । गठबन्धनको बालुवाटारे बैठकमा प्रचण्ड–माधवले खुलेरै यस्तो उद्घोष गरे, तुरुन्तै…
  • स्थानीय निर्वाचनको अन्यौलता

    हरि वाग्ले माघ १०, २०७८
    नेपालको संविधान बमोजिम २०७४ सालमा दुई र तीन चरणमा भएका निर्वाचन पछि तीनै तहका सरकार अहिले क्रियाशील छन् । लामो…
  • खोप अभियान तीव्र पार

    आदर्श समाज सम्वाददाता पौष २२, २०७८
    स्थास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ विरुद्धको खोपको अतिरिक्त मात्रा खोपको अभियान स्थगित गरेकोमा मानिसहरु आश्चर्य चकित भएका छन् । सरकारले…
  • बधाई र शुभकामना ! लिङ्देनजी

    दिनेश बस्नेत पौष ११, २०७८
    राजेन्द्र लिङ्देनको जीतले युवाहरुमा केही आशा र सम्भावनाको छनक छाएको छ । नेपाली जनमानसमा वितृष्णामुखी बन्दै गएको राजनीति, खोके बूढाहरुले…
  • चापाकोटका घुम्नैपर्ने केही पर्यटकीय स्थलहरु

    आदर्श समाज सम्वाददाता पौष ६, २०७८
    बढ्दो सहरीकरण, आधुनिकता, सूचना प्रविधिमा पहुँच तथा आर्थिक क्षमतामा भएको विकासलगायत कारणले केही वर्ष यता नेपालीहरुमामा पनि घुम्न जाने संस्कृति…

hero news full width