द्रष्टाका कलममा : स्रष्टा अलिमियाँ

Avatar असफल गौतम
श्रावण १८, २०७५

पृष्ठभूमि

विक्रम सम्वत् १९७५ फागुन १५ गतेका दिन आमा जहुरन मियाँ र बाबु दीन मोहम्मद मियाँका तेह्रौं सन्तानमध्येका कान्छा सन्तानका रूपमा अलि मियाँको जन्म हुन पुग्यो। १८ महिनाको उमेरमा आमा र तीन वर्षकै उमेरमा बाबाको निधनपछि टुहुरो बनेका मियाँ दाजु भाउजुको संरक्षणमा हुकेको पाइन्छ। उनले सानै उमेरमा दुःख कष्टका ठूला पहाड पार गर्नुपर्‍यो। बढ्दो उमेर, चढ्दो जवानीसँगै सुन्दर भविष्यका भारी सपनाहरू बोकेर घर, स्कुल गरेकाहरू देख्दा मन नलागेको कहाँ हो र स्कुल जान – १५ वर्षको उमेर हुँदा विन्ध्यवासिनी मन्दिर नजिकै संस्कृत पाठशाला भएर पनि मुसलमान भएकै कारण उनलाई अध्ययनको वातावरण सिर्जना हुन सकेन। हामीले सुनेका र कहीँ कतै पढेका थियौं, कुला मुनिको गिरिधारी भाटको खेत भानुभक्तले बाँझै बनाइदिएको सन्दर्भ। यस्तै पाठशालाको सन्दर्भ अलि मियाँको जीवनमा आएको पाइन्छ। तर पनि उनी भोको पेटमा फुसद पाउनासाथ धनीमानीका सन्तानले पढ्ने खरीपाटीमा लेखेका अक्षर ध्यान दिएर हेरेकै आधारमा अक्षर चिन्ने प्रयत्न गरे। केही मात्रामा खरिपाटीका अक्षर चिने पनि मनका अक्षर कसले पारिदिने भन्ने समस्याले सताउन थाल्यो। जहाँ इच्छा त्यहाँ उपाय एक वृद्ध उनको नजरमा परे। फलस्वरूप लेख्न लगाएको जिन्दगीको पहिलो मनको बह यस्तो थियोः

ऐलेको दसै सरियो बसैँ धनीको गोठमा,

हिमालमा बादल बसेको जस्तै कलेंटी ओठमा,

आँखामा आँसु के को खाउँमासु यो वृन्दावनैमा,

उडेर जाउँकि चुडेँर पठाउँभैरैछ मनमा ।

यसरी अरूलाई लेख्न लगाउँदै आफ्नो सिर्जनाको पाठशाला फराकिलो बनाउँदै गएका मियाँ सबैका लोककवि बने। आज हामीलाई छोडेर गएको १२ वर्ष बितिसक्यो। यसै सन्दर्भमा नेपाली वाङ्मयका क्षेत्रमा उनले पुर्‍याएको योगदानको स्मरण गरेर श्रद्धाञ्जली अर्पण गर्ने प्रयत्न प्रस्तुत आलेखमा गरिएको छ।

 

विषयप्रवेश

घरमा बसौं सबैले धर्काउने

वनमा बसौँ  न्याउलीले धर्काउने

सुखलाई भएन रति

दुःख पर्‍यो भनेर रूम कति।

मनमा लहरी चलेका यस्ता शब्दलाई लेखेर मिल्काउँदै जाने क्रम धेरै समय गुज्रे। २००६ सालमा आए मात्रै विरक्त लहरी कृति प्रकाशन भयो। जुन पहिलो कृतिका रूपमा विरक्त लहरी (२००६) देखापर्‍यो। त्यसपछि नेपाली झयाउरे गीतसङ्ग्रह (२०११), न्याउलीको पुकार (२०१२), पहाडको उद्गार (२०१५), सेतीको उद्गार (२०२९), उज्यालो भैसक्यो (२३२९), सम्झनाको दियो (२०५१), अलि मियाँको आवाज (२०५८), अलि मियाँ शीर्षकमा जीवनी देखा परे। यी बाहेकका अलि मियाँ अभिनन्दन ग्रन्थ (२०६१), लोककवि अलि मियाँप्रतिका श्रद्धाञ्जलीहरू (२०६४), अलि मियाँका लोकगीतको अध्ययन (२०६६) प्रकाशन भएर आएको अवस्थामा यी उनीप्रति सम्मान प्रकट गरेर प्रकाशन गरिएका भए पनि उनका कृतिको रूपमा हेर्दा अन्यथा होला जस्तो लाग्दैन।

यो अवस्थासम्म आइपुग्दा उनको पहिलो कृति हालसम्म दुर्लभ छ। २५ पृष्ठमा रहेको जानकारी भए पनि प्राप्त हुन सकेको छैन। २०११ सालमा प्रकाशित अलि मियाँको दोस्रो कृति नेपाली झयाउरे गीतसङ्ग्रहमा १९ ओटा गीत समावेश गरिएका छन्। अलि मियाँको तेस्रो कृतिको रूपमा प्रकाशित न्याउलीको पुकार हो। २०१२ सालमा प्रकाशित तेस्रो कृतिमा दोेस्रो कृतिका आठ गीत र आठओटा थप गरेर १६ ओटा गीतको सँगालो बनाइएको छ। २०१५ सालतिर चौथो कृतिका रूपमा पहाडको उद्गार प्रकाशन भएको पाइन्छ। जुन कृति बनारसका बाबू ठाकुरप्रसाद गुप्ताको बर्म्बई प्रेस राजादरबाटबाट मुद्रण भएको देखिन्छ। २०२९ सालमा पाचौँ रूपमा प्रकाशित कृति सेतीका सुस्केरामा बीस ओटा रचना सङ्कलित छन्। यो मात्रै होइन, अलि मियाँको जीवनी प्रकाशनमा आएको पाइन्छ भने उज्यालो भैसक्यो (२०३९) साहित्यकार तारा पाखेको सम्पादनमा प्रकाशित अलि मियाँको अको कृतिका रुपमा देखा परेको छ। सो कृतिमा लामाछोटा ४३ ओटा लोकगीत र लोककविता सङ्कलित छन्।

यस्तै, ७६ वर्षको उमेरमा सम्झनाको दियो नामक कृति २०५१ सालमा देखा पर्‍यो। यसमा पहिलाका कृतिहरू नेपाली झयाउरे गीतसङ्ग्रह, उज्यालो भैसक्यो, सेतीका सुस्केरा, न्याउलीको पुकार कृतिका रचना समावेश गरी थप १४४ ओटा कविता, लोकगीत र मुक्तकहरू, अलि मियाँले २०४७ सालमा दिएको अन्तर्वार्ता र अलि मियाँको जीवनी समावेश गरिएका कृति पाइन्छ। सम्झनाको दियो कृतिका गीत, रचनामा पनि त्यस्तै भाव रहेका छन्।

८४ औँ’ वर्ष पुगेको अवसरमा २०५८ सालमा पो.यु.साँ.प.द्वारा आयोजित अभिनन्दन समारोहमा विमोचित कृति अलि मियाँको आवाज (२०५८) मा ८४ ओटा गीत, कविता तथा २५ ओटा टुक्राटाक्री अनि हरिदेवी कोइराला, प्रेमराजा महत, दुर्गा रायमाझी, ठाकुर सिग्देल, पदमराज ढकाल, ओम विक्रम विष्ट र पुरूषोत्तम न्यौपानेले स्वर दिएर रेर्कर्ड गराइएका एघारओटा गीतका पंक्ति समावेश छन्। सुखीलाई गुदरी काम्लो म दुःखीलाई जहाँ बस्यो त्यहीँ राम्रो उनको पहिलो रेर्कर्ड गरिएको गीत हो। घर पनि छैन दाइ मेरो डर पनि लाग्दैन कसैको दोस्रो रेर्कर्ड गरिएको गीत हो।

अलि मियाँको आवाज कृतिमा लामो तथा पहिलो रचनाको रूपमा मेरो बाल्यकालमा आफ्नै बाल्य दिनलाई सम्झेको पाइन्छ। यस्तै गरेर अन्य केही गरी मर्नुछ, पसिनाको महत्त्व, सुखीलाई…, पोखराको माया सबैलाई, यो मायाले जाँऊ…, यहाँ यस्तै छ, जस्ता गीतलाई केही फेरबदल गरेको देख्न पाइन्छ। २०६१ सालमा आएर उनको नाममा गठन भएको अलि मियाँ लोकवाङ्मय प्रतिष्ठानबाट अलि मियाँ अभिनन्दन ग्रन्थ (२०६१) देखा पर्‍यो। डा. रविलाल अधिकारी संयोजक रहेको समितिमा रहेर तारा बराल, ठाकुरप्रसाद सिग्देल, भूपनिधि पन्त, अमृत भादगाउँलेले सम्पादन गरेको ग्रन्थमा शुभकामना, जीवनी, कृतिसमीक्षा, संस्मरण र परिशिष्ट खण्ड गरेर पाँच खण्डमा संरचित छ। जम्मा जम्मी ७१ जना शुभेच्छुक शुभचिन्तकका उल्लेखित विषय भित्र रहेर लेखिएका रचना पाइन्छन्। परिशिष्ट खण्डमा कृतिहरू भनेर पहाडको उदगार र अलि मियाँको जीवनीलगायत अध्यक्षको मन्तव्य राखिएको छ। यसरी उनका बारेमा एकपछि अको गर्दै सन्दर्भ सामग्री प्रकाशन हुने मात्रै होइन अलि मियाँका रचनामा विद्यावारिधिसमेत भइसकेको अवस्था छ।

समयको दुरी बतास ठूलो रूख माथि

मरेको थला पर्ने वनको पनि हात्ती

बढेबढे मुढा पनि पोलेपछि माथी

भतेर लाउँदा मास्नुपर्ने टाडँको पनि खसी

२०६३ वैशाखमा अलि मियाँको यही सिर्जना अन्तिम बनेर नेपाली साहित्य आकाशका लागि भनेर फेला पर्‍यो भन्ने स्रोत भेटिन्छ। मियाँका सिर्जनालाई हेर्दा र अध्ययन गर्दा भन्न सक्ने निष्कर्ष भनेको कलालाई मानवीय जीवनसँग जोड्ने काम अलि मियाँका सिर्जनाले गरेका छन्।

कला सिर्जनात्मक कल्पनाद्वारा सुन्दर सत्यको दुनिया जन्माउने थलो हो। प्रतिभाका लागि सन्तुष्टिको साधन हो। सिर्जना विना मानवीय जीवनलाई अलग राखेर हेर्ने हो भने नुन बिनाको तरकारी हुन जान्छ। अलि मियाँका सिर्जनामा विचार, विवेक, खोज, समानता, राष्ट्रियता जस्ता ज्वलन्त सवाल प्रगाढ भएका छन्। त्यसैको उपज उनले आफ्नो पोल्टामा सबैको मन बुझने खालका मान सम्मान नपाए जस्तो लागे पनि केही मात्रमा मात्र सरकारी पक्ष र अन्य पक्षले न्याय गरेको पाइन्छ।

उनले सम्मान प्राप्त गर्ने क्रम २०१२ सालमा नेपाल भारत सास्कृतिक केन्द्रको उद्घाटनमा प्रथम भएर शुरूआत भए पनि प्रजातन्त्रको प्राप्तिपछि मात्र सम्मानको ओइरो लागेको देखिन्छ। उनलाई २०१२ सालपछि एकैचोटी २०४२ मा पोखराको बौद्धिक परिचर्चा क्लव पोखराले अभिनन्दन गरेको पाइन्छ। त्यसपछि उनले चारर्दर्जन बढी सम्मान र पुरस्कार प्राप्त गरेका छन्। यस्तै साहित्यकार प्रकाश सायमीको सक्रियतामा अलि मियाँ लोकसङ्गीत संरक्षण कोष स्थापना भएको पाइन्छ। त्यसपछि अलि मियाँ लोकवाङमय प्रतिष्ठान गठन, अलि मियाँ अभिनन्दन स्मारिका, अभिनन्दन ग्रन्थ, विद्यावारिधि शोध ग्रन्थ प्रकाशनको सम्मान गणना गर्नै नमिल्ने अमूल्य सम्मान हुन्।

मेरो माया फिजाउँ भने संसारभरि पुग्छ

मेरो आँसु पोखौं भने सगरमाथा डुब्छ।

छाती खोली देखाऊँ भने माछापुच्छ्रे झुक्छ

मनको तिर्खा मेटौँ भने फेवाताल सुक्छ।।

सगरमाथाको चुचुरो झैँ अटल, अजर र अमर बनेर उनका कृति रहँदा पनि जति मूल्याङ्कन हुनुपर्ने राज्यबाट खोर्इ ? हाम्रा मात्र नभइकन हरेकका पैतालादेखि शिरसम्म अलि मियाँका चित्कार गुन्जिएका छन्। तिनले कसैको मन दुख्दा मलम, बालबालिकाका कलम बनेका छन्। गाउँका पाखारेखा, लेकवेँसीका ढुकढुकीमा विराजमान न्याउलीका भाका रन्किएका छन्। मुस्लिम समुदायमा हुर्के पनि नेपालीपनलाई उच्च बनाउन दत्तचित्त रह्ँदा सारा नेपालीका बस्ती घन्किएका छन्।  देश र जनताका गीत गाएर हिड्नेहरूको भोको पेट त छ नै तर उचित कदर पनि नहुँदा साहित्यको इतिहासमा बादल मडारिन सक्छ। विज्ञानले उन्नत प्रविधि भित्रिए जस्तै साहित्यमा पनि उन्नत प्रविधि भित्र्याउने अवस्था ल्याउनु पर्ने वेलामा अब सम्पूर्ण पोखरेली पनि जाग्नु पर्ने बेला आएको छ जस्तो लाग्छ।

 

निष्कर्ष

आजकै दिन १२ वर्ष अगाडि ८८ वर्षको उमेरमा निधन भएका अलि मियाँको सम्झना हाम्रो साथमा छ। सानै उमेरमा आमाबाबुविहीन हुनु। पाठशाला गएर पढ्न नपाउनु। व्रिटिस सेनामा भर्ती भए पनि छोडेर नेपाल आउनु। पुष्पलाल, गोकुल जोशी लगायतका अन्य व्यक्तिको विचारबाट प्रभावित भएर सिर्जना गर्न थाल्नु। राणा विरोधी जनताका गीत लेख्ने र गाउने दैनिकी बन्न जानु चानचुने कुरा थिएन। सोही कारण, जसरी एउटा ठूलो जंगलको फेदमा रहेको सानो विरूवा पनि आकाश ताकेर पालो लिइरहेका हुन्छ। हाम्रो यही वरिपरि रहेका यी नाला, खोल्सा र धारा पनि सेतीमा पुगेर सागर बन्ने अभिलाषा ताकेर बगिरहेका छन्। यी जीवन्तताका दृष्टान्त हुन। हामीलाई साहित्यको कलमी बिरूवा, एक मुठी बीऊ र एउटा नमूना चाहिएको बेला त्यो नमूना अलि मियाँलाई मान्ने कि नमान्ने प्रश्न साझा हो। नेपाली साहित्य आकाशमा लेखन र प्रकाशनको शृङ्खला अत्यधिक वृद्धि भएको छ, राम्रो हो। साहित्यमा भएको संख्यात्मक र गुणात्मक विस्तार कस्तो छ। कतै अकल्पनीय त छैन – यदि छ भने भेटिएका ती विषयवस्तुका विचार पक्ष, शैली पक्ष र सिर्जनाको शक्ति पक्षमा खारिएका छन् कि छैनन् – एउटा साहित्यको विद्यार्थीका नाताले यस्ता प्रश्न समय समयमा उठ्नु स्वभाविक हो। नयाँ पुस्ताको काँधमा ठूलो जिम्मेवारी आएको छ। यो परिवर्तित समय र नयाँ पिँढीले साहित्यको संरक्षण गर्नुपर्छ। जीवनको न शुरूको विन्दु भेटिन्छ, न अन्त्यको तसर्थ महत्त्वपूर्ण अधुरा र अपूरा सपना अँगाली निरन्तर खहरे बनेर बगिरहन्छ तसर्थ त्यो प्यास मेटाउनका लागि लोककवि अलि मियाँलाई सम्झेर सिर्जनामा लाग्ने प्रण गर्न आवश्यक देखिन्छ।

अन्य समाचार

जोशी, सुनुवाइ समिति र जनविश्वास गुमाउँदै गरेको राज्यव्यवस्था

उखानको चरितार्थता : 'पिशाव पनि गरिसक्यो, दैलो पनि देख्यो’ मेची-महाकाली, गाउँ-शहर सबै ठाउँमा सुनिने नेपाली उखान हो यो। 'पिशाव’ शब्दको ठाउँमा ठेट गाउँले पदावली छ। यद्यपि, त्यो प्रचलित उखानको मौलिक शब्दमा पनि कुनै अश्लीलता छैन। बोधै,बोध छ। शिक्षै, शिक्षा छ। बुझ्ने र व्यवहारमा अवलम्बन गर्नेहो भने हित नै हित छ। तथापि, शिष्टतावश मैले 'पिशाव’ शब्दले प्रतिस्थापन गरेको हुँ। यसले पनि उखानले दिने सन्देशमा अन्यथा हुँदैन। उक्त उखानले एउटा अवस्था बताउँछ। घरभित्रै पर्याप्त फोहोर गरिसकेपछि मात्रै बाहिर जाने ढोका भेटायो। पिशावले च्यापेको छ, ढोका खोज्छ, भेटाउँदैन। पहिलेको उखानहो। घरभित्र शौचालय त के शौचको बिसर्जन खुला ठाउँम गर्ने बेलाको हो यो उखान।…

राष्ट्रिय पहिचानको कल्पवृक्षःपीपल

वनस्पति खोज विशेष परिचय नेपाली वृहत शब्दकोषमा व्याख्या गरिएअनुसार पानका आकारको तर टुप्पाको भाग केही लामो हुने, डाँठ हुने, वरकै किसिममा गोल फल फल्ने, बोक्रा हुने र खोटो निस्कने एक जातको वृक्ष हो। यसलाई संस्कृतमा बोधीवृक्ष पनि भन्ने गरिएको छ। पीपलको उत्पतिको बारेमा विभिन्न तर्क र वहश छन। धेरैले हिन्दकुश क्षेत्र भनेका छन्। इन्दुस उपत्यकाको सभ्यता विस्तारको शहर मोहन्जेदारोलाई पनि उत्पत्तिको थलोको रूपमा पछ्याइएको छ। पीपल एक अग्लो, ठूलो आकारको, चाडै बढ्ने पतझड तर अर्ध सदावहार खालको रुख हो। यसका…