ब्रिगेडसामु मनाङलाई कठिन

मनकामना केबुलकार पोखरा कप

आदर्श समाज सम्वाददाता
माघ २४, २०७५
51538693_1481819591954553_9049431174241320960_n_Fotor

मनाङ मस्र्याङ्दी र ब्रिगेड व्याइज क्लब (सेतो) का खेलाडी प्रतिष्पर्धामा । तस्वीर : राम गुरुङ

मनाङ मस्र्याङ्दी र ब्रिगेड व्याइज क्लब (सेतो) का खेलाडी प्रतिष्पर्धामा । तस्वीर : राम गुरुङ

पोखरा, २३ माघ । लिगविजेता सिग्नेचर मनाङ मस्र्याङ्दी फुटबल क्लबले पोखरा रंगशालामा बुधबार ब्रिगेड ब्वाइज क्लबमाथि कठिन जित हात पारेको छ ।

निर्धारित समयको अन्तिम मिनेटसम्म एक–एकको बराबरी खेलेको मनाङले अतिरिक्त समयमा १० खेलाडीमा सीमित ब्रिगेडमाथि स्कोर लिन नसक्दा जिका लागि टाइब्रेकरको नतिजा कुर्नुपर्यो । अन्ततः टाइब्रेकरमा ५–४ गोलअन्तरले पराजित गर्दै उपाधि दावेदार मनाङले दोस्रो सेमिफाइनलमा पाहुना टोली क्यामरुनको डफिन्स टिम फेमेली फुटबल क्लबसँग भेट सुनिश्चित गरेको छ ।

क्यामरुनी टिमले दोस्रो क्वाटरफाइनलमा विभागीय त्रिभुवन आर्मी क्लबलाई ४–१ ले पराजित गरी अन्तिम चारमा ठाउँ सुरक्षित पारिसकेको छ ।

पोखरा रंगशालामा दिनको खेलमा लिगविजेतासामु उत्कृष्ट खेल पस्केको ब्रिगेड व्याइजले टाइब्रेकरमा पदम भट्टराईको पेनाल्टी सुटआउट गोलमा परिणत हुन नसक्दा मनाङलाई जित सुम्पिन बाध्य भयो । रोमाञ्चक टाइब्रेकरमा ब्रिगेडतर्फबाट भट्टराईको पहिलो प्रहार विपक्षी कीपर विशाल श्रेष्ठले बचाउ गरेका थिए ।

पेनाल्टीमा मनाङका लागि सुजल श्रेष्ठ, हेमन गुरुङ, कमल श्रेष्ठ, प्रकाश बुढाथोकी र सुरज विश्वकर्माको बल गोलमा परिणत हुँदा ब्रिगेडका सुरज ठकुरी रणदीप पौडेल, जय गुरुङ र मनोज राईको प्रहारले गोलपोष्टको दिशा लियो ।

यसअघि, निर्धारित ९० मिनेटको खेल सकिन मात्र २ मिनेट रहँदा बिग्रेडका कीपर लक्की कार्की रेड कार्ड खाँदै बाहिरिएका थिए । त्यसपछि १० खेलाडीमा सीमित ब्रिगेडले अतिरिक्त समयमा मनाङलाई बराबरीमा रोक्दै नतिजाका लागि टाइब्रेकरसम्म धकेल्यो ।

मनाङका लागि विदेशी खेलाडी ओलाडिपो अफिज ओलावालाले करीब २० यार्ड नजिकबाटै बल अघि बढाएको अवस्थामा कीपर लक्की कार्कीले डि–बक्स बाहिर आएर बल क्याच गर्न पुगेका थिए । मुख्य रेफ्री प्रकाशनाथ श्रेष्ठले तत्काल कार्कीलाई तत्काल रेड कार्ड देखाउँदै मैदान बाहिर निकाले ।

उता, ब्रिगेडका प्रशिक्षक सुवित कार्कीले दोस्रो रोजाइका कीपर दीपेश मोक्तानलाई शिशिर लेखीको ठाउँमा मैदान पठाए ।

अत्यन्तै प्रतिष्पर्धात्मक खेलमा ब्रिगेडले सुरुवाती अग्रता लिएको थियो । १६ आंै मिनेटमा ब्रिगेडका ऋतिक खड्काले दुई डिफेन्डरलाई छलाउँदै उत्कृष्ट गोल गरेका थिए । उनले करिब १८ यार्ड टाढाबाट सेकेण्ड बार च्याप्दै विपक्षी पोष्टमा बल प्रहार गरेका हुन् ।

मनाङले बराबरी खेल्न ६७ मिनेटसम्म कुर्नु पर्यो । ओलावालेले दिएको पास बललाई विमल रानाले फष्टवार च्याच्दै बललाई जाली चुमाएका थिए ।

लिगमा १२ औं स्थानको ब्रिगेडका लागि खेलको ८८ औं मिनेटमा आएर दुर्भाग्य खेप्नुपरे पनि उसका लागि केही उत्कृष्ट अवसर खेल गएका थिए ।

प्रतियोगितामा मनाङका कीपर विशाल श्रेष्ठ म्यान अफ दी म्याच घोषित भए । उनले नगद ५ हजार रुपैयाँ पुरस्कार पाए ।

मनाङका प्रशिक्षक सुमन श्रेष्ठले खेलाडीले पहिलो हाफमा इजी खेल्दा स्कोर गर्न कठिन भएको बताए । उनले ब्रिगेडीको खेललाई पनि उत्कृष्ट रहेको प्रतिक्रिया दिए । आप्mना खेलाडी थाकेकोले पनि सोचेजस्तो खेल्न नसकिएको पोष्टम्याच कन्सरेन्समा उनको भनाइ थियो ।

उता, ब्रिगेडका प्रशिक्षक सुवित कार्कीले आफ्ना ३ विदेशी खेलाडीको अभावमा पनि आफ्नो टिमले राम्रो खेलेको भन्दै सन्तोष व्यक्त गरे । मनाङजस्तो टिमलाई यसरी रोक्न सक्नु पनि खुसीको विषय हो, उनले भने । ब्रिगेडका ३ विदेशी खेलाडीको वर्क परमिट नहुँदा मैदान बाहिरै खुम्चिएका थिए ।

विहीवार पहिलो सेमिफाइनलमा एपीएफ र जापानी रिस्सो युनिभर्सिटीको टीमबीच प्रतिष्पर्धा हुने आयोजक कास्की जिल्ला फुटबल संघले जनाएको छ । एपीएफले यसअघि थ्रिस्टारलाई र जापानी टिमले नेपाल पुलिसलाई समान १–० गोलअन्तरले पराजित गर्दै फाइनल प्रवेशका लागि एकअर्काबीच भेट सुनिश्चित गरेका हुन् । प्रतियोगिताको फाइनल शनिबार हुने जनाइएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width