पोखरा, २२ माघ। जापानी रिस्सो युनिभर्सिटीको टिमले पोखरा रंगशालामा उत्कृष्ट खेल पस्केको छ। छैटौं संस्करणको मनकामना केबुलकार पोखरा कप फुटबल प्रतियोगिताको तेस्रो क्वाटरफाइनलमा मंगलबार नेपाल पुलिस क्लबलाई १–० गोलअन्तरले पराजित गरी विजयी यात्रा सुरुवात गर्यो। खेलको १९ औं मिनेटमा जापानी टिमका लागि यासुताका सुजुकीले गरेको एकमात्र गोल निर्णायक साविक भयो।
भर्खरै उमेरका देखिने जापानी खेलाडीको खेल प्रदर्शनलाई विपक्षी पुलिसका प्रशिक्षक अनन्तराज थापाले पनि प्रशंसा गरे। आफ्नो हारलाई स्वभाविक लिँदै उनले भने, ‘उनीहरु (जापानी टीम) को प्रदर्शनबाट लोभलाग्दो रह्यो। कसरी फुटबल खेल्नुपर्छ भन्ने हामीले सिक्यौं।’ नेपाली फुटबल खेल कुन स्तरमा छ भन्ने कुरा म्याच खेलेपछि मात्र थाहा हुने बताए। उनले भने, ‘मोडर्न फुटबल कस्तो खेलिन्छ भन्ने डिस्प्ले गरे। हामीहरुको लागि पनि लर्निङ भयो।’
जारी संस्करणको अन्तिम प्रिक्वाटरफाइनलमा लिग उपविजेता संकटा क्लबको चुनौती २–१ले पन्छाएको पुलिसले मंगलबारको खेलमा भने अन्तिम मिनेटसम्म गोल फर्काउने कोशिस खेर जाँदा घर फर्किन बाध्य भयो। पहिलो हाफ इजी खेलेको ऊ दोस्रो हाफमा कमब्याक हुने प्रयासमा आक्रामक देखिएको थियो।
प्रतियोगितामा हिरोमु तानाकाले मिलाएको पास नाट्सुकी ताकेडाको क्रसमा यासुताका सुजुकीले फस्ट बार च्याप्दै अग्रता लिएका थिए। १९ औं मिनेटमा अग्रता कायम गरेको पाहुना टोलीले खेल अवधिभर आधा दर्जन गोलका अवसर भने खेर फालेको थियो।
खेल सुरुवातको १० औ मिनेटमै हिरोमु तानाकाले सिक्स यार्डबाट हानेको बल पुलिसका गोलकीपर शत्रुधन चौधरीले उत्कृष्ट बचाउ गरे। १७ औं मिनेटमै हिरोमुको डि–बक्सबाट फस्ट बार च्याप्दै गरेको कडा प्रहार बाहिरिन पुगेको थियो। पुलिसको दोस्रो हाफको उत्तरार्धमा बराबरी खेल्ने प्रयासमा भरत शाह र नीरकुमार राईले गोलको अवसर खेर फालेका थिए। ६८ औ मिनेटमा रवि पासवानले विपक्षी पोष्टमा गरेको फितलो प्रहारमा कीपर मित्सुमोरीले पञ्च गरी फर्काएका थिए। सो बल पुनः भरत शाहले विपक्षी पोस्टमा प्रहार गरे पनि गोलपोष्टको जालो बुन्न सकेनन्।
जितपछि कीपर कोच टुकुरियो ताकेसीले खेलाडी लामो यात्रापछि आएकोले निर्धारित ९० मिनेटसम्म खेल्न फिट नभएको र आगामी दिन अझै राम्रो खेल पस्िकने बताए। उनले वातावरण भिन्न हुँदा अलि कठिन भएको बताए। प्रतियोगितामा विजेता टिमका नाट्सुकी ताकेडा म्यान अफ दी म्याच हुँदै नगद ५ हजार रुपैयाँ पुरस्कार पाए। उनलाई गण्डकी प्रदेशमा हालै सांसदको शपथ ग्रहण गरेका राजीव गुरुङले पुरस्कार हस्तान्तरण गरे। शपथपछि औपचारिक कार्यक्रममा उनी पहिलो पटक प्रमुख अतिथि बनेर पुगेका थिए। उनैले दिनको प्रतियोगिता रेफ्रीलाई बल हस्तान्तरण गरी उद्घाटन गरे। जापानी युनिर्भिटीको टिम पहिलो रोजाइको टिम हो। माछापुच्छ्रेको आँगनमा फुटबल खेल्नका लागि समुद्र पार गरेर जापानबाट युनिभर्सिटी प्रमुख तथा टिम म्यानेजर सुजिता ममूरो, कोच टुकुरियो ताकेसी, कीपर कोच सासाकी योटासहित २५ जनाको टोली यहाँ आएको छ।
प्रतियोगिताअन्तर्गत बुधबार लिग विजेता मनाङ मस्र्याङ्दी क्लब र ब्रिगेड व्याइज क्लबबीच अन्तिम क्वार्टरफाइनल हुने आयोजक कास्की जिल्ला फुटबल संघले जनाएको छ। मनाङ सिधैँ क्वाटरफाइनल खेल्दा ब्रिगेडले आयोजक ओम डेभलपमेन्ट बंंैक पोखरा–११ लाई १–० गोलअन्तरले पराजित गर्दै मनाङको भेट सुनिश्चित गरेको हो।