प्रकृतिपूजक बानियाँ रहेनन्

आदर्श समाज सम्वाददाता
माघ २, २०७५

प्रकृतिपूजक बानियाँ रहेनन्

पोखरा, १ माघ। पर्यावरण तथा वातावरण संरक्षणका अग्रज तथा प्रकृतिपूजक प्रेमबहादुर बानियाँको निधन भएको छ।

पोखरा–१६, बाटुलेचौर निवासी ८९ वर्षीय बानियाँको मणिपाल शिक्षण अस्पतालमा उपचारक्रममा शनिबार निधन भएको हो। उनी केही समयदेखि मृगौलासम्बन्धी समस्याबाट पीडित थिए।

वातावरणप्रति अत्यन्त रुची राख्ने बानियाँले पञ्चपल्लव लगायत चार हजारभन्दा बढी बिरुवाको रोपण तथा संरक्षण समेत गरेका थिए भने पाँच वटा चौतारी निर्माण गरेका थिए।

पर्यावरण संरक्षणमा उनले पुर्याएको योगदानबारे बीबीसी लगायत विभिन्न सञ्चारमाध्यमबाट प्रशारण तथा प्रकाशन भएको थियो।

वातावरण तथा सामाजिक क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै उनीलाई शुक्ला साहित्य समिति, हिमालय क्लब, नवआदर्श सामुदायिक विकास समाज, पोखरा पब्लिक स्कूल लगायत संस्थाहरुले सम्मान गरेका थिए।

तत्कालीन शाही नेपाल वायुसेवा निगममा २५ वर्षभन्दा बढी सेवा पुर्याएका बानियाँ दीर्घसेवा पदकबाट विभूषित भएका थिए।

यसैगरी उनी विश्व हिन्दू महासंघ, राष्ट्रिय परोपकार महासंघ, गीता मन्दिर, राममन्दिर, हिमालय क्लब लगायत विभिन्न संस्थामा आबद्ध रहेका थिए।

स्व. प्रेमबहादुर बानियाँको पोखरा–१६, लामाचौरस्थित सेतीगण्डकीको तुलसीघाटमा शनिबार दाहसंस्कार भयो।

उनका श्रीमती, तीन छोरा दुई छोरी र १५ जना नातिनातिना छन्।

स्व. बानियाँका जेठा छोरा हरिबहादुर निवृत्त उपसचिव हुन्। माइला छोरा रामबहादुर शिक्षक एवम् साहित्यकार हुन् भने कान्छा छोरा डिलबहादुर यातायात व्यवसायीका रूपमा परिचित छन्।

सह–प्राध्यापक ढेवाजूलाई मातृशोक

आदर्श समाज सम्वाददाता
माघ २, २०७५
सह–प्राध्यापक ढेवाजूलाई मातृशोक
पोखरा, १ माघ। पृथ्वीनारायण क्याम्पसका निवृत्त सह–प्राध्यापक रामगोपाल ढेवाजूलाई मातृशोक परेको छ। उनकी ममतामयी आमा लक्ष्मीश्वरी ढेवाजूको ७८ वर्षको उमेरमा मणिपाल शिक्षण अस्पतालमा आइतबार निधन भयो। उनी केही समयदेखि दम रोगबाट पीडित थिइन्। वृद्धभत्तावापत आफूले प्राप्त गरेको रकम बालगोपाल भजनकीर्तन सेवा समिति कुँडहरलाई अर्पण गर्दै आएकी लक्ष्मीश्वरी ढेवाजू सहनशील, मिलनशील, दयालु र परोपकारी स्वभावकी थिइन्। उनको आइतबार नै पोखरा–१० स्थित रामघाटमा दाहसंस्कार भयो। उनका एक छोरा रामगोपालसहित एक छोरी, तीन नाति र पाँच नातिनीहरु रहेका छन्। लेखकसमेत रहेका रामगोपाल ढेवाजु भद्रकाली माध्यमिक विद्यालय कुँडहरका सल्लाहकार तथा सेण्ट मेरिज स्कूल व्यवस्थापन समितिका सदस्य हुन्।

पाल्पाली संस्कृति पोखरामा खुल्दै

आदर्श समाज सम्वाददाता
माघ १, २०७५
पाल्पाली संस्कृति पोखरामा खुल्दै
  पोखरा, ३० पुस। सिटीजन फर्निचर पाल्पाली सांगीतिक साँझ तथा सम्मान कार्यक्रम–२०७५ प्रचारका लागि पाल्पाली समाज पोखराको टोली गृहजिल्ला पाल्पा पुगेको छ । समाजका अध्यक्ष कुलप्रसाद घिमिरेको नेतृत्वमा पूर्व अध्यक्ष एवं सल्लाहकार चिरञ्जीवी श्रेष्ठ, महासचिव श्रीधर पराजुली, कार्य समिति पूर्व सदस्य तथा कलाकार दुर्गा रायमाझी सम्मिलित टोलीले प्रदेश ५ मा पाल्पाबाट निर्वाचित सांसद, स्थानीय जनप्रतिनिधिलाई भेट गरी कार्यक्रमको निम्तो बाँडेको छ । कार्यक्रममा प्रदेश सांसद नारायण आचार्य, युवराज खनाल, वीरबहादुर राना, पुरनमान बजाचार्य, तुलबहादुर घर्ती ‘वसन्त’, रमा घर्ती र पृतकुमारी ढेंगामगरलाई भेटेर…