आर्मी स्तब्ध, क्यामरुन चारमा

मनकामना केबुलकार पोखरा कप

आदर्श समाज सम्वाददाता
माघ २२, २०७५
आर्मी स्तब्ध, क्यामरुन चारमा

आर्मी र क्यामरुनी टिम प्रतिष्पर्धामा ।  तस्वीर : राम गुरुङ

पोखरा, २१ माघ । पाहुना टोली क्यामरुनको डफिन्स टिम फेमेली फुटबल क्लब पोखरा रंगशालामा जारी छैटौं संस्करणको मनकामना केबुलकार पोखरा कप फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ ।

सोमबार भएको दोस्रो क्वाटरफाइनलमा उसले त्रिभुवन आर्मी क्लबलाई ४–१ को फराकिलो गोलअन्तरले पराजित गरेको हो । यस सिजनमा २ उपाधि र १ मा उपविजेता आर्मी पोखरा रंगशालामा भने पहिलो खेलमै पराजित हुन पुग्यो ।

गोलको खडेरी पहिलो हाफको इञ्जुरी टाइममा डफिन्सले चिर्न सफल भयो । डफिन्सका लागि यान्निक ओनाले गोल गर्दै टिमलाई अग्रता दिलाएका हुन् । यान्निकले नै खेलको ६० औं मिनेटमा गोल गर्दै अन्तर दोब्बर पारे । उनले डिडर टीनाको बललाई सदुपयोग गर्दै विपक्षीको गोलपोष्टमा प्रहार गर्दा कीपर विश्वास चौधरीले रोक्न सकेनन् ।

त्यसको ८ मिनेटमै अरमेल एहण्डाले खेलको ६८ औं मिनेटमा गोल गर्दै जित सुनिश्चित पारे । दुई डिफेन्सलाई विट गर्दै अरमेलले बललाई पोष्टको लय लिएका हुन् ।

अग्ला र शारीरिक रुपमा बलिया खेलाडी लिएर आएको पाहुना टोलीले दोस्रो हाफको इन्जुरी टाइममा पनि गोल थप्यो । ६ मिनेट थपको इन्जुरी टाइमको पहिलो मिनेटमा ओको बोटाले गोल गर्दै ४–० को फराकिलो अन्तर कायम गरेकोमा लगत्तै आर्मीले सान्त्वना गोल फर्कायो ।

आर्मीका लागि विवेक बस्नेतले इञ्जुरी टाइमको चौथो मिनेटमा गोल गर्दै गोलअन्तर घटाएका हुन् ।

सोमबारको खेलमा २ गोल गरेका यान्निक म्यान अफ दी म्याच घोषित हुँदै ५ हजार रुपैयाँ पुरस्कार जिते ।

खेलको ४२ औं मिनेटमा ओओनाले गरेको हेड प्रहार क्रसबारबाट बाहिरिन पुग्दा अग्रता लिन चुकेको थियो । आर्मीका लागि लगत्तै सुदिल राईले डिबक्स भित्रबाट हानेको प्रहार बाहिरिन पुगेको थियो ।

हारपछि त्रिभुवन आर्मी क्लबका प्रशिक्षक गंगा देउजाले डिफेन्स कमजोर हुनुले गोलअन्तर ठूलो भएको स्वीकारे । इटहरीमा सम्पन्न मदन भण्डारी मेमोरियल गोल्डकप र वीरगञ्जमा सम्पन्न विशाल मेमोरियल गोल्डकपको उपाधि विजेता आर्मीले पोखरा रंगशालामा भने दोस्रो रोजाइका खेलाडी मैदान उतारेको थियो । आर्मीले सिमरा गोल्डकपको फाइनलमा भने थ्रीस्टारलाई उपाधि सुम्पेको थियो ।

मंगलबार तेस्रो क्वाटरफाइनलमा नेपाल पुलिस क्लब र जापानको रिस्सो युनिभर्सिटीको टिमबीच प्रतिष्पर्धा हुने आयोजक कास्की जिल्ला फुटबल संघले जनाएको छ ।

यसैबीच, जापानी टिम प्रतियोगिता खेल्न आइतबार पोखरा आइसकेको छ । सोमबार पत्रकारसँग कुरा गर्दै युनिभर्सिटी प्रमुख तथा टिम म्यानेजर सुजिता ममूरोले नेपाल पुलिससँग आक्रामक खेल खेल्ने बताएका छन् । उनले यहाँको ग्राउण्ड त्यत्ति राम्रो नभए पनि जस्तोसुकै ग्राउण्डमा खेल खेल्नुपर्ने बताए । फुटबल खेल्न पहिलो पटक पोखरा आएको सो टिम जापानी युनिर्भिटीको पहिलो रोजाइको टिम हो । खेलका लागि जापानबाट कोच टुकुरियो ताकेसी, कीपर कोच सासाकी योटासहित २५ जनाको टोली पोखरा आएको छ ।

जारी प्रतियोगितामा यसअघि थ्रीस्टारलाई हराउँदै एपीएफ अन्तिम चारमा पुगिसकेको छ ।

गण्डकी प्रदेशसभाको वर्षदिन

Bijay Nepal विजय नेपाल
माघ २२, २०७५
गण्डकी प्रदेशसभाको वर्षदिन
पोखरा, २१ माघ । गण्डकी प्रदेशको पहिलो बैठक बसेको आज माघ २२ गते ठिक १ वर्ष पुगेको छ । प्रदेशको तेस्रो अधिवेशन जारी रहँदासम्म यसबीच ६९ दिन सभा संचालन भयो । कुल ८४ बैठकका लागि ८० घण्टा १९ सेकेण्ड समय व्यतित भएको प्रदेशसभा सचिवालयले जनाएको छ । जसमध्ये पहिलो अधिवेशन २९ दिन, ३६ बैठक, दोस्रो अधिवेशन ३५ दिन, ४२ बैठक बसेको हो । पारित विधेयकमध्ये पहिलो अधिवेशनबाट ९, दोस्रोमा १३ र जारी तेस्रो अधिवेशनमा २ वटा रहेका छन् भने ४ वटा सभामा प्रस्तुत भएको प्रदेशसभा सचिवालयका सूचना अधिकारी विष्णुप्रसाद पौडेलले जानकारी दिए । गत वर्ष आजकै दिन बसेको संसद्को पहिलो बैठकको अध्यक्षता प्रदेशका ज्येष्ठ सदस्य जनकलाल…

तरकारी लगाउन सिकाउने कृषक पाठशाला

आदर्श समाज सम्वाददाता
माघ २२, २०७५
तरकारी लगाउन सिकाउने कृषक पाठशाला
लेखनाथ, २१ माघ। कृषकलाई व्यावसायिक उत्पादनतर्फ अग्रसर गराउने उद्देश्यले कारितास नेपाल मार्फत कृषक पाठशाला संचालन गरी तरकारी लगाउन सिकाइएको छ। नेपाल जीविकोपार्जनका लागि उत्थान कार्यक्रमअन्तर्गत पोखरा–२९ को भण्डारढिकस्थित दीपज्योति आइपिएम कृषक पाठशालाका कृषक समूहलाई तरकारी बाली लगाउने तरिकाबारे जानकारी गराइएको हो। बीउदेखि भण्डारसम्मको लागि कृषक समूहलाई ब्यवहारिक र सैद्धान्तिक तालिम मार्फत व्यावसायिक कृषक कसरी बन्न सकिन्छ भन्ने बारेमा जानकारी गराइएको हो। पाठशालाका अध्यक्ष होमनाथ पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको शुभारम्भ गर्दै वडाध्यक्ष चेतबहादुर गुरुङले निर्वाहमुखी कृषि ब्यवसायभन्दा माथि उठी स्थानीय स्रोतसाधन…