पोखरा, ८ साउन। कुँवर समाज नेपालको प्रथम राष्ट्रिय महाधिवेशनबारे विस्तारित भेला काठमाडौंमा सम्पन्न भएको छ।
नेपालभरि छरिएर रहेका कुँवर बन्धुहरुको विभिन्न गोत्र र नामबाट स्थापना भएका पाँचवटा समाजको गत वर्ष एकीकरण भएको थियो।
एकीकरणपछि कुँवर समाज नेपालका नामले काठमाडौ जिल्ला प्रशासन कार्यालयमा दर्ता गरी अधिराज्यभर सङ्गठन विस्तार गर्ने र क्षेत्रीय वंशका कुँवरहरुको वंशावली तयार गर्ने, राष्ट्र, अन्तराष्ट्रमा छरिएर रहेका कुँवर बन्धुहरुबीच एकता कायम गर्ने, रीतिरिवाज, आफ्नो संस्कृतिबारे अध्ययन अनुसन्धान गर्ने, सम्पूर्ण कुँवर बन्धुहरुबीच एकरुपता ल्याउन आचारसंहिता तयार गर्ने, युवा पुस्तालाई आफ्ना समाज र राष्ट्रप्रति जिम्मेवार बन्न प्रेरित गर्ने र नेपाल राष्ट्रको गौरवमय इतिहास कायम गर्न सफल कुँवर वंशका उज्वल नक्षत्र बीर बलभद्र कुँवरका ऐतिहासिक पक्षको अध्ययन गरेर उनका नाउँमा प्रतिष्ठान स्थापना गर्नेजस्ता विषयमा क्रियाशील रहने समाजको प्राथमिक उद्देश्य रहेको समाजको सदस्य निरज कुँवरले बताए।
प्रा.डा. देशराजबहादुर कुँवरको अध्यक्षतामा बसेको भेलामा बोल्ने वक्ताहरुले आदिम कालदेखि नेपालको आदिवासीका रूपमा बसोबास गर्दै आएका कुँवरहरुलाई अन्यमा राखेर राज्यले अन्याय गरेको हुँदा आफ्ना हक अधिकारको सुनिश्चितताको लागि पनि राष्ट्रिय एकताको खाँचो रहेको कुरा औंल्याएका थिए।
समाजका महासचिव रामकृष्णराज कुँवरले सञ्चालन गरेको कार्यक्रममा केन्द्रीय सदस्य गणेश कुँवरले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए।
कुँवर समाज नेपाल (धनञ्जय गोत्र) कुँवर सेवा समाज नेपाल केन्द्रीय कार्यालय पोखरा, कुँवर फाउण्डेशन नेपाल, कुँवर समाज नेपाल (आत्रेय गोत्र), वत्स्य गोत्रीय कुँवर समाज पूर्वाञ्चलका बीच गत वर्षको माघमा एकीकरण सम्पन्न भएको थियो।
विभिन्न जिल्लामा सङ्गठन विस्तार गरी आगामी मङ्सिर वा माघको तेस्रो हप्तामा राष्ट्रिय महाधिवेशन गर्ने लक्ष्य राखिएको सो कार्यक्रममा आर्थिक, नैतिक र भौतिकरूपमा सहयोग गर्ने केन्द्रीय कोषाध्यक्ष यमबहादुर कुँवर र एनआरएन मस्कोका सदस्य एवं समाजका सल्लाहकार छविलाल कुँवरलाई विशेष सम्मान गरिएको थियो।
स्रोत / लेखक / सम्बाददाता: आदर्श समाज
Post Views: 218 views since July 25, 2011 ( excluding you )