धेरै दिनको लगातार थाकेको अनुहारलाई आराम दिने उद्देश्यले हामी चारै जना कतै जाने सोचमा थियौं। साथीहरुबीचको सल्लाहपछि भोटेकोशीको बन्जीजम्पलाई हाम्रो रोजाईमा पार्यौं।
योजना अनुसार हामी बिहीबार पोखराबाट साँझ ६ बजे भोटेकोशीको यात्रा सुरु गर्यौं। मनमा अनेक प्रकारको कौतुहलताको साथमा एक प्रकारको खुसी, आनन्द र बन्जीजम्पसँगको डर पनि मिलिरहेकेा थियो। पहिलो दिनको यात्रालाई काठमाडौंसम्म नै सीमित बनाउने निधो गर्यौं। पोखरादेखि काठमाडौंसम्मको यात्रा पहिलोपटक भने थिएन तर भोटेकोशीमा बन्जी गर्ने उत्साहले यात्रा अनौठो र नयाँ लागिरह्यो।
बेलुकीको लगातार ६ घण्टाको यात्राको थकान मेटाउनको लागि काठमाडौंको विछ्यौना पर्याप्त बनेछ हामी आज दोस्र्रो दिन शुक्रबारको दिनको यात्राको लागि तयार र उत्साहित थियौं। काठमाडौंबाट बनेपा, धुलिखेल हुँदै भोटेकोशीतर्फ जति जति उत्तर लाग्दै थियौं मनमा अनेक प्रकारका तर· खेलिरहेको थियो। साथीहरु एकपछि अर्को गर्दै सान्त्वना दिंदै भन्दै थिए कि-’साथी हो मैले त प्याराग्लाइडिङ गरिसकेको छु क्यारे, त्यसैले सजिलो हुन्छ होला बन्जी पनि, डराइहाल्नुपर्दैन’ साथी बुद्धिमान गुरुङले यति आँटिलो कुरा मात्र हाम्रो लागि बन्जी जम्प गर्नको लागि पर्याप्त भएजस्तो महशुस मैले गरिन। बन्जी भन्नासाथ एक प्रकारको डर तथा उत्सुकता सबैको मुहारमा स्पष्ट देख्न सकिन्थ्यो। कयौंपटक काठमाडौंसम्म यात्रा गरे तापनि काठमाडौंबाट भोटेकोशीतर्फको यात्रा नितान्त पहिलो भएकाले मनमा हल्का डर तथा रोमाञ्चकता रहनु स्वाभाविक नै थियो। धुलीखेलबाट माथितिर लाग्दै गर्दा रातो माटोले भरिएका डाँडैडाँडा र हरिया वनज·ल अनि ती रातो माटोलाई साथ दिइरहेका साघुँरा बाटाहरु। प्रकृतिको यो रोमाञ्चक दृष्यलाई आँखाभरि कैद गर्दै हामी अगाडि बढ्दै थियौ। सायद यिनै डाँडालाई नै देखेर होला साहित्यकारहरुले यही ठाउँबाट उपन्यास लेखेका अनि यिनै रातो माटोलाई देखेरै होला ‘रातो माटो सिँदुरको साटो, झल्को आउँछ नहिँड त्यो बाटो ’जस्ता लोकगीतहरु रचिएका। यस्तै यस्तै कुरा मनमा खेलाउँदै हामी लामासाँघु भन्ने स्थानमा पुग्यौं। त्यहाँ रहेेको रोपवेले हाम्रो ध्यान खिच्न सफल भयो। करिब १० वर्षअघिदेखि नै बन्द अवस्थामा रहेको रोप वे खरीखानीबाट खरीकारखानासम्म रहेको त्यो रोप वे खरी बोक्नकै लागि प्रयोगमा ल्याइएको रहेछ। उक्त रोप वे अब फेरि सञ्चालमा ल्याउन सक्ने सम्भावना भने हामीले देखेनौं किनभने त्यो पूर्णरूपमा जीर्ण बनिसकेको थियो।
दिनको खाना बाह्रविसेमा खाइसकेपछि भोटेकोशीलाई कहिले दायाँ त कहिले बायाँ पार्दै साँघुरो त्यसमा पनि बिग्रिएको बाटो हुँदै गन्तव्यतर्फ लाग्दै गर्दा बाटोको दायाँबायाँ राखिएका बन्जी नेपालको होडिङबोर्डहरुले मनमा एक प्रकारको तर· पैदा गरिरहेको थियो। यसरी बाटो वरपर राखिएको होडिङबोर्डहरुले त्यो बाटो भएर ओहेारदोहोर गर्ने जो कोहीलाई पनि एकपटक बन्जी गरौं गरौं लाग्नेमहशुश मैले गरे। शुक्रबारको दिन मध्यान्ह १ बजेको चर्को घाम अनि लगातार दुर्इ दिनको यात्राले केही थकित मुद्रामा हामीले बन्जी गर्ने स्थानको भोलुङगे पुललाई देख्यौं। त्यस स्थानलाई देख्नासाथ म त हाँस्न पो थालेछु। बाटोमा बन्जी गर्ने क्या ठूला ठूला कुरा गर्दै आइयो तर पुलको गहिराई देख्नेवित्तिकै होस उड्यो अनि हाँसो लाग्यो। पोखराबाट बन्जीको लागि बनाएर गएको मनस्थितिले काम गर्लाजस्तो लागेन, त्यसमा पनि अझ अरु साथीहरुको अनुहार देख्दा त हाँसो थाम्नै सकिन। साँच्चै सबै साथीहरुको अनुहारमा डर प्रष्ट देखिन्थ्यो। म ठोकुवाका साथ भन्न सक्छु यदि मेरो ठाउँमा तपार्इं हुनुभएको भए पनि पक्कै हाँस्नुहुन्थ्यो। हामी त्यस पुलमा सबैजना त्रसित देखिन्थ्यां तर मलाई किन किन लगातार हाँस्न मात्र मन लागिरह्यो। जब हामी त्यहाँ गएर बुझ्यौं बन्जी १ दिन विराएर हुँदो रहेछ फेरि पालो आज रहेनछ। भोली शनिबार पालो रहेछ त्यसपछि ती थकित मुद्राका अनुहारहरुमा फेरि नैराश्यता छाउन थाल्यो। त्यसै बेला साथी आयुषले ‘त्यसो भए आज हामी खासा जाउँ न त – भन्ने प्रस्ताव मात्र के राखेका थिए सबैजना फेरि उस्तै जोशका साथ तम्तयार देखियौं। त्यसपछि भोलीका लागि बन्जीको टिकट बुक गरी लाग्यौं खासातर्फ।
म पहिलोपटक देश छोडेर विदेशतर्फ लाग्दै थिएँ। खासा,मनमा कता कता डर लाग्दै थियो भने बढी उत्सुक नै थिए। दिनको ठीक साढे २ बजे मितेरी पुल हुँदै केही प्रक्रिया पार गरेपछि गाडीसहित खासा जान पाउने भयौं। खासाको बारेमा मैले जे सोचेको थिएँ त्यो भने पटक्कै पाइन। त्यसपछि जे हुन्थ्यो मलाई अचम्म लाग्न थाल्यो किनभने हामी पनि खासा बजार छिर्ने बजार पनि बन्द हुने प्रक्रिया लगभग एकै समयजस्तै भयो। गाडी दायाँतर्फ चलाउनुपर्ने, पैसा (घर्मु चल्ने), समय दुर्इ घण्टा छिटो, भाषा त वाक्क न प्वाक्क न हाम्रो कुरा उनीहरुले बुझ्ने न उनीहरुको कुरा हामीले बुझ्ने। यति हुँदाहँदै पनि त्यहाँ रहेका नेपालीहरुको सहयोगबाट बल्ल बल्ल एउटा होटल खोजेर बास बस्ने बन्दोवस्त गर्यौं। नेपालमा गर्मीबाट गएको तर खासामा त जाडो पो रहेछ। जब बेलुकी खाना खानको लागि तल झर्यौ खान जान फेरि अप्ठ्यारो पक्कै भयो, इशारा गर्दै खाने कुरा देखाउँदै खाना खायौं। अचम्मको स्वाद अनि पानि पनि उमालेर दिने ठ्वास्स गनाउने निकै कठिनताकापूर्वक हामी खाना खान सफल भयौं तर जे होस खासाको खाना भने खास्सा नै थियो। त्यसपछि विहान ८ वजे नै सिमाना पार हुँदै नेपाल नै फर्कियौँ। जे होस् नेपालको सिमानामा टेक्नासाथ घरै फर्किएजस्तो महशुस गरिंदोरहेछ। खासा नेपालको लागि बनाइएको बजार भए तापनि अलि चलाख नभए सजिलैसँग ठगिन सकिने सम्भावना देख्यौं हामीले। सिमानाबाट भने घरायसी प्रयोजनका लागि भनेर भारीका भारी सामान बोकेर ल्याइँदोरहेछ जसमा कर छुट हुँदो रहेछ। यसका लागि भने अहिले नेपाल सरकारले ल्याएको कर प्रणाली ठीकैजस्तो लाग्यो।
त्यसपछि हामी भोटेकोशी आइपुग्दा १० बजिसकेको थियो। हामी दिउँसोको समूहसँग बन्जी गर्ने भयांै। समूह विभाजन गर्दै जाँदा आ-आफ्नो तौलअनुसार पालो आउने रहेछ। तौल लिएपछि थाहा पाएँ समूहमा सबभन्दा खाईलाग्दो म नै रहेछु, ७७ केजी म अन्तिममा पर्ने भएँ। ठीकै भयो सुरुमा भएको भए डर अत्यधिक लाग्ने थियो, अन्तिममा परेपछि डर कम हुने महशुस गर्दै गए। पहिलो पालो साथी आयुषको आयो, जसोतसो उसले हान्यो अनि सुदीपको उसले पनि राम्रै हान्यो त्यसपछि बुद्धिमानको पालो तर मलाई अचम्म यहाँनेर लाग्यो कि पोखराबाट वन्जिका लागि जाँदा जो सबैभन्दा बढी डरायो उसले बरु सजिलैसँग हानेजस्तो लाग्यो। तर यहाँ जो सबैभन्दा बढी उत्साहित थियो ऊ नै डरायो साथी बुद्धिमान म अझै भन्छु त्यो बेलामा तपाईंको अनुहार हेर्नलायककै थियो। साथीहरु सबै जनाले हाने अब पालो मेरो, अब पर्यो फसाद मैले सोचेको थिएँ यत्तिका साथीमध्ये कोही त डराएर र्फकलान् अनि नसके म पनि फकू’ला तर भयो के सबै डराएरै भए पनि बन्जी हानिछाडे। मलाई किन किन बेलाबेलामा शौचालय गइरहन मन लागिरह्यो। हुन त नढाँटी भन्दा हाम्रो समूहकै साथी त्यहाँ आएदेखि बन्जीको पालो नआएसम्म कम्तीमा पनि १० पटक जति त शौचालय गइसकेका थिए। नाम त नखोलांै डरले हो वा खासाको खानाले आज चाहीं गएका थिए म भने कुरा काट्लान् भनेर पनि गइन र गए पुलतर्फ अरुले हानेको बेला पनि मन झस· झस· भइरहेको बेला अब पालो आफ्नै आउँदै थियो। साथीहरुलाई ‘साथी हो, म त्यहाँ गएपछि हात हल्लाउँछु, गीत गाउँछु अनि तिमीहरुले हाम फाल भनेपछि मात्र हाम्फाल्छु भनेको थिएँ। जब खुट्टामा डोरीले बाँधियो विस्तारै जिउ तातो तातो हुन थाल्यो। त्यसपछि त्यहाँ क्यामेरासहित सानो अन्तर्वार्ता हुने रहेछ त्यो बेलामा विशेष खुट्टामा बाँधिएको र अनुहारको हाउभाउ खिचिंदो रहेछ। विशेष हाम्रो लागिभन्दा पनि उनीहरुको प्रयोजनका लागि त्यसपछि नाम – विनोद, बन्जी किन गर्ने ? भन्ने प्रश्नमा सबै साथीहरुले हाने त्यसैले भन्ने सटिक उत्तर दिएछु र मलाई अलि अघि सारियो, ठानें अब त भयो होला तर अझै अघि भन्ने आवाज आयो त्यसपछि यसो तल हेरेको त छ्या· तल देख्दा त मनै सिरि·, आङ नै जिरि· भयो। दायाँबायाँ ठूला भीर तल खोला देखे अनि त को साथी ? के गीत ? कसलाई हात हल्लाउने ? सबै बिर्से, म कहाँ छु, सबै विर्संदो रैछु मात्र खुट्टाको डोरीले तानजस्तो लाग्दोरैछ, सोचेको थिएँ छेउमा जान डर लाग्छ होला, हाम फालेसी रमाइलो हुन्छ भनेर प्रशिक्षकले अलि छेउ भन्छ आफ्नो सातो गइसक्यो अझै छेउ भन्छ ज्यान कामिसक्यो, अझै छेउ भन्छ यसो छेउ जान्छु भनेर प्रयास गर्छर्त न खुट्टा चल्छ न त ज्यान नै अब के गर्ने निधारबाट चिट्चिट् पसिना पो आउन थालेछ। अनि त्यसपछि केही थाहा पाइन शरीर त अझै तातो भएछ अझै छेउ भन्ने आवाज आउँदै थियो म त हात खोलेर हाम फालेछु हाम फालेपछि रमाइलो हुन्छ भन्ने सोचेको थिएँ तर हाम फालेपछि हावामा हुँदा त डरको पनि चौगुना डर पो लाग्दोरहेछ। मैले त हात कहाँ छ भन्ने पनि बिर्सिएछु, खुट्टा बाँधेको छ भन्ने पनि भुलेछु आपनो यत्रो ७७ केजीको ज्यानै बिर्सेछु। मात्र गयो, गयो गयो गयो, गयो गया भन्ने शब्द मात्र मुखमा आउँदो रहेछ मात्र ढुकढुकी याद हुने अनि खाली कहाँ समाउँ कहाँ समाउँ मात्र हुने अनि जब पहिलोपटक छ्याक्क भयो बल्ल सास फेर्न याद आउँदोरहेछ। अनि फेरि त्यही गयो, गयो गयो हुँदो रहेछ। दोस्रोपटक झट्याक्क हुँदा बल्ल खुट्टा बाँधेको ठाउँमा अलि अलि दुख्न थाल्यो त्यसपछि जब बाँस समातेर ओलेर्ं अनि खुट्टा फर्काउनलाई सुताइयो टाउको पनि छाम्नुपर्ने खुट्टा पनि छाम्नुपर्ने, शरीर पूरै छाम्नुपर्ने कुन कहाँ छ केही थाहा पाइन सबै सबै छाम्नुपर्ने अनि अलि पर गएर एक लोटा पानी शरीरमा खन्याएँ बल्ल महशुश गरे कि मेरो शरीर शरीरै रहेछ बल्ल लामो सास फेरें र त्यहीं बसेर अरु हाम फालेको हेरिरहंे। साँच्चै भन्छु धरोर्धर्म यस्तो डर जिन्दगीमा कहिल्यै लागेको थिएन। डर जिन्दगीमा महशुश मात्र गरेको थिएँ तर यहाँ त र्छल·ै प्रत्यक्ष नै देखें मैले त। मृत्युको यत्ति यत्ति नजिक नजिक पुगेजस्तो लाग्यो तर पनि अनौठो महशुस यस्तोमा पनि रमाइलो हुँदो रहेछ मृत्यु यत्ति नजिकबाट देखेजस्तो लाग्छ कि अब त छिट्टै मर्दिन होलाजस्तो आँट आउँदो रहेछ।
साँच्चै डर छ त्यहाँ, हाम फालेर आत्महत्या गर्छर्भनेर बेलाबेलामा धम्काइरहने मानिसलाई त्यहाँ लगेर खुट्टामा बाँधेर फाल्दिनु (बन्जी गराइदिनपर्छ) मलाई लाग्छ त्यो मान्छे कम्तीमा पनि १० दिन त माथि नै नउक्ली तलै बसेर रोइराख्छ होला। मृत्युलाई त्यति नजिक महशुस गरिंदोरहेछ।
शरीर र आत्मा फरक-फरक छन् भनेर सुनेको थिएँ तर यहाँ आएर महशुस गरे, मलाई अचम्म लाग्यो यो ७७ केजीको शरीर पनि सिमलको भुवाजस्तै हलुका लाग्दो रहेछ। अचम्मको हलुका महशुस गरे यो खेलबाट। त्यसपछि आधा घन्टाको उकालो उक्लँदा फेरि त्यै ७७ केजीको शरीर नै भारी लाग्दो रैछ फेरि, त्यसपछि सबै साथी हाँस्दै हाँस्दै आ-आफ्नो अनुभव सुनाउँदै त्यो अचम्मको अनुभव मनमा समेट्दै समय मिले जिन्दगीमा फेरि घुम्न आउने वाचा गरी भोटेकोशीलाई बिदाइ गर्दै रमणीय सहर पोखरा फर्कियौं।
स्रोत / लेखक / सम्बददाता : विनोद श्रेष्ठ
Post Views: 42 views since June 17, 2011 ( excluding you )